विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङ पछिल्लो समयमा उज्यलो नेपाल पार्टीका अघोषित प्रमुख रहेका उर्जामन्त्री कुलमान घिसिङप्रति आक्रामक बन्दै गएका छन् ।
कुलमान उर्जामन्त्री बनेपछि लगातार उनको विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका साम्पाङले मन्त्री पदमै रहेर उज्यालो नेपाल पार्टी स्थापना गरेपछि उनीप्रति थप आक्रामक बनेका छन् ।
अझ पूर्वबाट आफ्नो पार्टीमा आउने अपेक्षा गरेका पहिचानवादी नेता डेकेन्द्रसिंह थेगिम कुलमानको पार्टीमा लागेपछि साङ्पाङ थप आक्रोशित छन् । इलाममा भएको गत उपनिर्वाचनमा थेगिमलाई साम्पाङले सहयोग गरेका थिए । थेगिमको भोग माग्न उनी पटक–पटक इलाम पुगेका थिए । तर, थेगिम उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।
साम्पाङले कुलमानलाई विदेशी शक्तिबाट पारिचालित भएकोदेखि एमसीसीको मतियार र भ्रष्टचारी भएको आरोप पनि लगाइरहेका छन् । आफू सहभागी भएका विभिन्न सभामा कुलमानले लगातार विद्युत् काटेर अबरोध गराएको आरोप पनि उनले लगाएका छन् ।
पार्टी विस्तारका कार्यक्रमका क्रममा भोजपुर, ताप्लेजुङ, संखुवासभा लगायतका स्थानमा बारम्बार बत्ती काटिएको घटनालाई ‘संयोग मात्र नभएको’ दाबी साम्पाङको छ । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले मन्त्री घिसिङलाई संकेत गर्दै निरन्तर कार्यक्रमस्थलमा विद्युत् अवरोध गराएको आरोप सार्वजनिक गरेका थिए। उनले अघि लेखे, “भोजपुर गएँ—लाइन काटिदिनुभयो, ताप्लेजुङ गएँ—लाइन काटिदिनुभयो, संखुवासभा गएँ—त्यहाँ पनि काटिदिनुभयो। अब हेटौंडा जाँदैछु, त्यहाँ पनि काटिदिनु होला ।”
कार्तिक १६ मा निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र लिएपछि साम्पाङ नेतृत्वमा गठित श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ । त्यस क्रममा भएका सभामा साम्पाङ घिसिङप्रति उनी आक्रामक सुनिन्छन् । एमसिसि परियोजना राष्ट्रहितविपरीत भएको र त्यसमा घिसिङले भूमिका खेलेको आरोप साम्पाङले बारम्बार दोहोर्याइरहेका छन्।
धरान आएर मन्त्री घिसिङले केहि दिन अगाडि “एमसिसि संसदले पारित गरेको हो, मेरो कुनै व्यक्तिगत हात छैन” भनेका थिए । तर, उनले साम्पाङलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए । तर, साम्पाङले उक्त प्रस्तावलाई खुलै अस्वीकार गर्दै आगामी चुनावमा “एक्लै लडेर बहुमत ल्याउने” दाबी गरेका छन् ।
दलाल, भ्रष्ट, एमसिसि मतियारको साथमा कुनै हालतमा नजाने साम्पाङको अडान छ । कुनै समय घिसिङका कट्टर समर्थक रहेका साम्पाङ र ऊर्जा नीतिमा लामो समय सक्रिय घिसिङ दुवै अहिले आफ्नाअनुसार वैकल्पिक नेतृत्वको दाबी गर्दै अघि बढिरहेका छन्। जेनजी आन्दोलनपछि बनेको सरकारमा साम्पाङले प्रधानमन्त्री वा कुनै मन्त्रीको दावी गरेका थिए । तर, घिसिङ मन्त्री बन्दा उनलाई मन्त्री नबाईएपछि उनी आक्रोशित बने ।
साम्पाङलाई प्रधानमन्त्री वा मन्त्री बनाउन भन्दै उनकाक समर्थकले सैनिक मुख्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । साम्पाङ पनि धरानबाट प्रधानमन्त्री ÷मन्त्री बन्न काठमाडौं पुगेका थिए । तर, मन्त्री नबनाएपछि उनले मन्त्री बन्नको लागि दुतावासमा लम्पसार पर्नुपर्ने भन्दै आफू त्यसो गर्न तयार नभएर फर्केको बताएका थिए । त्यसपछि पार्टी दर्ता गरेका उनले सरकारले विदेशीको कठपुतलीको संज्ञा दिँदै आएका छन् ।
आउँदो चुनावमा आफ्नो पार्टीलाई बहुमत ल्याउन नदिन देशी विदेशी तत्त्वले कुलमानलाई प्रयोग गरेको साम्पाङले आरोप लगाएका छन् । फेसबुक लाइभमा उनले नेपालमा काम गर्ने मान्छे सत्तामा नपुगुन् र देश दरिद्र भइराखोस् भनेर षडयन्त्र भइराखेको जिकिर गरे । त्यसका बाबजुद आफ्नो श्रम संस्कृति पार्टीले बहुमत ल्याएर छोड्ने उनको दावी छ ।
साम्पाङले घिसिङलाई चुनौती दिँदै भनेका छन्, ‘तपाईँविरुद्ध यसरी प्रयोग भइराख्नुभयो भने हाम्रो श्रम संस्कृति पार्टीले साइड लगाउँछ वा नाघेर जान्छ । बचेखुचेको छविलाई बचाउनुस् र मन्त्रीको काममा केन्द्रित हुनुस् ।’ हर्क सत्तामा नआओस् भनेर कुलमानजीलाई अघि सारिएको भन्दै उनले आफू आएमा विदेशी चलखेल रोकिने, उत्पादन बढ्ने र गरिबी निवारण हुने दावी गरेका छन् ।
आफूले यो देश बचाउ, माटो बचाउ स्वाभिमान बचाउ इज्जत बचाउ भन्ने एउटा हर्कवादी विचार लिएको भन्दै साम्पाङले कुलमानहरुले विदेशी चलखेल, विदेशी सिद्धान्त, विदेशी ऋण लिएर व्यक्तिगत स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका छन् । ‘कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदैछ । मसित यसको प्रमाण छ । अहिले आएको एउटा पार्टी छ, जसमा उहाँको नाम जोडिएको छ’ उनले भनेका छन्, ‘उहाँले त्यो मेरो पार्टी होइन भन्नुभएको थियो । हेर्दाखेरि लिस्टमा उहाँको नाम छैन । अहिले घोषणा सभामा गएर उहाँ नै सबै थोक हो भनेर वक्तव्यबाजी गरिराख्नुभएको छ । यसले देखाउँछ या त उहाँ अन्योलमा हुनुहुन्छ या दोहोरो चरित्रको मान्छे हो ।’
अहिले जेन–जीलाई यो सरकार बनाएकोमा पछुतो भइरहेको भन्दै साम्पाङले भनेका छन्, ‘हि इज बिङ युज्ड । मलाई सरकारमा जान्न भनेर उहाँले प्रष्टरुपमा भन्नुभएको थियो । २४ घण्टा नबित्दै जानुभो ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।