लोड हुँदैछ...

मेनु

एमालेमा कोशीबाट सचिव बन्नेको लर्को, ओलीलाई सकस पर्ने

एमालेमा कोशीबाट सचिव बन्नेको लर्को, ओलीलाई सकस पर्ने

विराटनगर । नेकपा (एमाले) को ११ औं महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट सचिव पदमा दाबी गर्ने नेताहरूको लर्को देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेशबाट ‘हेभीवेट’ नेताहरूले सचिवमा दाबी गर्दा ओलीलाई नै सकस पर्ने देखिएको छ ।

कोशी प्रदेशबाट एमालेको सचिव पदमा आधा दर्जनभन्दा धेरै नेताहरूले आकांक्षा देखाएका छन् । नवौं महाधिवेशनमै सचिवमा प्रतिस्पर्धा गरेका परशुमेघी गुरुङदेखि संस्थापक मुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री हिक्मत कार्कीसम्म सचिवकाक दावेदार छन् ।

कोशी प्रदेशकै स्थायी समिति सदस्यहरु भानुभक्त ढकाल, राजेन्द्र गौतम र अग्नि खरेल पनि सचिवको दौडमा छन् । उनीहरु सबै संस्थापन (ओली)पक्षका हुन् । इतर (ईश्वर पोखरेल) पक्षबाट मोरङका नेता विनोद ढकालले पनि सचिवमा दाबी गरिरहेका छन् । ओलीकै समूहमा धेरै दावेदार रहेकोले उनलाई नै व्यवस्थापन गर्न पेचिलो देखिएको छ।

कोशीबाट सचिवका दाबेदार रहेका खरेलले पदाधिकारी घटाउने निर्णय गलत भएको बताए । विधान महाधिवेशनमा आफूले पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यको संख्या घटाउन नहुने मत राखेकोमा त्यसको सुनुवाई नहुँदा अहिले समस्या भएको उनको भनाइ छ । ‘मैले विधान महाधिवेशन गर्नुभन्दा अगाडिको पोलिटब्युरो बैठकमै भनेको थिएँ, पदाधिकारीको संख्या नघटाऔं, वरिष्ठ लगायतका कसैलाई पनि नहटाऔं’ उनले भने, ‘स्थायी कमिटी पनि नहटाऔं र केन्द्रीय कमिटीको सदस्य संख्या पनि नघटाऔं भनेकोमा सुनुवाई भएन ।’

विधान महाधिवेशनमा एउटा निर्णय गर्ने अनि पछि राष्ट्रिय महाधिवेशनमा पुगेर मेरो अनुहार सम्झिएर फेरि मैले भनेकै ठाउँमा पुग्नुहोला भनेको खरेलले स्मरण गरे । ‘अहिले आएर मेरै कुरा सही हुने देखिँदैछ’ उनले भने । खरेलले आफू सचिवको आकांक्षी रहेको तर नेतृत्व र साथीभाइहरूसँगको सरसल्लाहमा अघि बढ्ने बताए । सहमति नभए लोकतान्त्रिक विधि (चुनाव)बाट नेतृत्व चयन हुनुलाई अन्यथा मान्न नहुने उनको भनाइ छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले पनि आफू सचिवको तयारीमा रहेको बताएका छन् । ‘मैले सचिवको तयारी गर्ने भन्ने कुरा भइरहेको छ । अब हेरौं दुई–चार दिनमा सबै कुरा फिक्स हुन्छ,’ उनले भने । कोशीबाट धेरै आकांक्षी देखिएको सन्दर्भमा राईले अन्तिममा कसरी जाने भन्ने विषयमा छलफल गरेर टुंगो लाग्ने बताए । ‘दाबेदारी त गर्ने धेरै जना नै हुनुहुन्छ, तर अन्तिममा मोटामोटी कसरी जाने भन्ने कुरा फाइनल हुन्छ, त्यही हिसाबमा हामी अगाडि बढ्छौं,’ राईले भने ।

कोशी प्रदेशबाट उदाएका नेताहरू केन्द्रमा स्थापित हुन खोज्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सन्तुलन मिलाउन हम्मेहम्मे पर्ने देखिएको छ । पुराना र आफू निकट नेताहरुको धेरै दाबी छ । भानुभक्त ढकाल र अग्नि खरेल जस्ता ओलीका विश्वासपात्रहरू पनि सचिवको दौडमा हुँदा विधान महाधिवेशनले निर्धारण गरेको सीमित पदाधिकारी संख्या साँघुरो भएको देखिन्छ ।

विधान अनुसार एमालेमा अब १५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा अबको महाधिवेशनबाट ७ जना सचिव बन्नेछन् । स्रोतका अनुसार ७ वटै प्रदेशबाट सचिव बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds