विराटनगर । नेकपा एमाले ओखलढुंगाको ११औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर उत्पन्न विवाद पार्टी केन्द्रीय मुख्यालय च्यासलसम्म पुगेको छ। निर्वाचन प्रक्रियाबाट चुनिएका प्रतिनिधिलाई मान्यता नदिई संगठन विभागले पुनः निर्वाचनको निर्देशन दिएपछि ओखलढुंगाका एमाले नेता तथा जिल्ला निर्वाचन मतदान अधिकृत सञ्जय खत्रीले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलमाथि आक्रोश पोखेका छन्।
पार्टी मुख्यालयमा भएको भेटघाटमा खत्रीले विधि र प्रक्रिया पुर्याएर गरिएको निर्वाचन बदर गरिएको भन्दै नेतृत्वको नियतमाथि प्रश्न उठाए ।
के हो विवाद?
एमाले ओखलढुंगाको अधिवेशनका लागि गत मंसिर १३ गते निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको थियो। तर, उक्त प्रक्रियामा असन्तुष्टि जनाउँदै अर्को पक्षले उजुरी गरेपछि केन्द्रीय संगठन विभागले उक्त छनोट प्रक्रिया रद्द गर्दै पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दियो। सोही निर्देशनको विरोधमा निर्वाचन अधिकृत खत्रीसहितको टोलीले संगठन प्रमुख अधिकारी र सचिव ढुंगेललाई भेटेर असन्तुष्टि जनाएको हो।
खत्रीले संगठन विभाग प्रमुख अधिकारीसामु एमालेको दोहोरो मापदण्डमाथि प्रश्न उठाए। उनले अन्य जिल्लाको उदाहरण दिँदै ओखलढुंगाका १५१८ जना कार्यकर्ताले लाइन लागेर गरेको मतदानलाई नेतृत्वले अपमान गरेको आरोप लगाए।
आक्रोशित हुँदै खत्रीले भने, “सोलुमा २८ जनाले भोट हाल्दा सर्वसम्मत भएर पारित हुने ? धनुषामा १४ हजार संगठित सदस्य भएको ठाउँमा १५१ जनाले भोट हाल्दा त्यो सदर हुने ? खोटाङमा जबरजस्ती ५० औं जनाले विमति जनाउँदा पनि सदर हुने ? अनि ओखलढुंगामा १५१८ जनाले मत हाल्दा चाहिँ बदर हुने ?”
केन्द्रले पुनः प्रतिनिधि छनोट गर्न पठाएको पत्रको जवाफमा जिल्लाका ८ मध्ये ७ पालिकाले सुरक्षा र व्यवस्थापनका कारण अब निर्वाचन गर्न नसक्ने लिखित जानकारी गराइसकेको खत्रीले बताए।
“तपाईंहरूले ११ गते पत्र पठाउनुभयो, हामीले १२ गते नै जवाफ पठायौं कि अब व्यवस्थापन र सुरक्षाको हिसाबले निर्वाचन सम्भव छैन,” खत्रीले अधिकारीलाई चुनौती दिँदै भने, “यज्ञराज सुनुवार र किशोर अधिकारीले फोन नउठाउँदा जिल्ला नजाने ? अनि यहाँ बसेर मनलाग्दी निर्णय गर्ने ?”
यज्ञराज सुनुवारमाथि खनिए खत्री
खत्रीले केन्द्रीय सदस्य तथा ओखलढुंगाका ईन्चार्ज यज्ञराज सुनुवारप्रति पनि तीव्र आक्रोश व्यक्त गरे। सुनुवारले ३०० पटक फोन गर्दा पनि नउठाएको र म्यासेजको रिप्लाई नगरेको गुनासो गर्दै उनले भने, “निर्वाचन प्रक्रियाबाट भागेर हिँड्ने, फोन नउठाउने अनि यहाँ आएर गलत रिपाेर्टिङ गर्ने ? १५१८ जनाले भोट हालेको निर्वाचनलाई बदर गरेर अब सुनकोशी कसरी तर्छ ?”
खत्रीले आफूहरूले विधिपूर्वक निर्वाचन गराएको दाबी गर्दै त्यसको फोटो, भिडियो र कागजातसहित पुनः आउने चेतावनी दिए। उनले भने, “तपाईंहरूलाई छलफलका फोटो, भिडियो सबै लिएर आउँछौं। निर्वाचन कमिटीले पटक–पटक बोलाउँदा नआउने, अनि बाहिर बसेर पत्रकार सम्मेलन गर्दै हिँड्ने ? विधि र प्रक्रिया पुगेको छैन भने कुन डकुमेन्ट पुगेन भन्नुपर्यो, होइन भने १५ सय कार्यकर्ताको मतको अपमान गर्न पाइँदैन।”
खत्रीको आक्रोशपछि संगठन विभाग प्रमुख अधिकारी र सचिव ढुंगेल रक्षात्मक देखिएका थिए। अधिकारीले “तलका ६ वटा पालिकाले माग गरेअनुसार पायक पर्ने गरी गर्न खोजिएको” भन्दै सम्झाउने प्रयास गरे पनि खत्रीले त्यसलाई अस्वीकार गर्दै “मनपरितन्त्र नचल्ने” चेतावनी दिएका थिए।
ओखलढुंगा एमालेमा संस्थापन र इतर पक्षबीचको गुटगत लडाइँले जिल्लाबाट छानिएका प्रतिनिधिकाे वैधानिकतामा प्रश्न उठेकाे छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!