विराटनगर । २०७९ सालको स्थानीय तह निर्वाचनमा हर्कराज राई (हर्क साम्पाङ) धरानका उम्मेद्वार थिए । त्यसबेला उनलाई चुनाव प्रचारमा सघाउने केही मानिस मात्रै अघिपछि थिए । हेन माइक लिएर आफैं प्रचारमा खट्थे । साम्पाङलाई त्यसबेला ठूला पार्टीका नेता, कार्यकर्ता उल्याउँथे र निर्वाचन जित्नेको त कल्पना नै गर्दैन थिए । तर, उनले सानदारका साथ काँग्रेस–माओवादी गठबन्धनका साथै एमालेका उम्मेद्वारलाई पराजित गरे ।
त्यसपछि श्रम अभियान निरन्तर चलाएर चर्चा कमाएका हर्क साम्पाङ अहिले श्रम संस्कृति पार्टी खोलेर आगामी निर्वाचनमा ठूलो दल बन्ने बताउँछन् । कोशी प्रदेशका १२ वटा जिल्लामा प्रतिनिधिमूलक अभियान चलाइसकेका उनको पार्टीका प्रवक्ता सत्य घले भन्छन्, ‘१४ जिल्लाबाटै हामीले जित्ने हो ।’
घलेले भनेजस्तै साम्पाङ पुगेका कार्यक्रमहरुमा मानिसको भीड सामान्य राजनीतिक कार्यक्रमको जस्तो छैन । डाँडाकाँडा, घरका छत, बार्दली र साँघुरा गल्लीहरूमा समेत मानिसहरू ओइरिएर साम्पाङ सहभागी र्याली तथा सभाहरुमा सहभागी भएका छन् ।
विशेषगरी पहाडी भूगोलमा यति ठूलो जनसहभागिता जुट्नुले पुराना दलहरूको संगठनलाई साँच्चै चुनौती दिएको पुष्टि गर्छ । मानिसहरू स्वतःस्फूर्त रूपमा हर्कलाई हेर्न र सुन्न आएको जस्तो देखिन्छ । यसले साम्पाङको प्रभाव केवल धरान वा तराईमा मात्र सीमित नभएर पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङको कुना–कन्दरासम्म विस्तार भइसकेको देखिन्छ ।

भीडमा युवायुवतीहरू मोबाइल हातमा लिएर भिडियो खिचिरहेका देखिन्छन् भने पाका उमेरका नागरिकहरू पनि ध्यानपूर्वक सुनिरहेका देखिन्छन् । यसरी देखिएको उत्साह र सहभागीहरूको ‘बडी ल्याङ्ग्वेज’ ले उनीहरू साम्पाङप्रति आशावादी रहेको संकेत गर्छ । राजनीतिक विश्लेषकले भनेजस्तै मतदाता अब पुराना दलको ‘हनुमान’ मात्र नभएर विकल्पको खोजीमा रहेको कुरा तस्बिरमा झल्किएको छ ।
प्रायः सबै सभा तथा र्यालीमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । कुनै पार्टीको झन्डाभन्दा देशको झन्डा बोकेर हिँड्ने हर्कको शैलीले सर्वसाधारणलाई आकर्षित गरेको देखिन्छ । साम्पाङको सादगी र उनलाई सुन्न लालायित भीड हेर्दा उनी ग्रासरुटका नेता बनेको देखिन्छ ।
साम्पाङको यो अभियानले पूर्वका ठूला दलहरु एमाले, काँग्रेस र माओवादीलाई झस्काइदिएको छ । एक हिसावले भन्ने हो भने ती दलका उम्मेद्वारहरु डराएका छन् । ‘हैन हाम्रा कार्यकर्ताहरु नै माटो भन्दै लागिरहेका छन् । गाह्रो पार्छ जस्तो देखियो,’ एमाले खोटाङका एक नेताले भने ।
नेपाली कम्युनिष्ट पार्टी भोजपुरका एक नेताले पनि पहाडि जिल्लामा आफूहरुलाई अप्ठ्यारो पार्ने देखिएको बताए । ‘केही न केही प्रभाव देखिएको छ । निर्वाचनको समयसम्ममा यस्तै तरिकाले अगाडि बढ्ने हो भने हामीलाई गाह्रो पर्ने देखिन्छ,’ उनी भन्छन् ।
काँग्रेस झापाका एक नेताले आदिवासी जनजाति मतदाताहरु हर्क साम्पाङतिर डोहोरिरहेको बताए । ‘हाम्रा नेता आउँदा मान्छे जाँदैनन् । साम्पाङतिर बिना प्रचार कुदिरहेका छन्,’ उनले भने । साम्पाङले पूर्वमा अभियान सकेर अब पश्चिम तिर लाग्ने तयारी गरेका छन् । उनले मंसिर २० गते हेटौंडा, २१ गते चितवन, २२ गते काठमाडौं र २३ गते काभ्रेमा कार्यक्रम गर्ने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘अब पश्चिम तिर मिलाएर आउँछु ।’ उनले आफ्नो अभियानलाई देशव्यापी लाने बताएका छन् ।
श्रम संस्कृति पार्टीका प्रवक्ता घलेले कोशी प्रदेशका अधिकांश जिल्लामा अभियान सफल भइसकेको र जनलहर उत्साहजनक रहेको दाबी गरे । ‘कोशीको दुईटा जिल्ला ओखलढुङ्गा र सोलुखुम्बु बाँकी छ, अर्को महिना हुँदैछ । अरु सबै जिल्ला सकिसक्यो,’ उनले भने, ‘प्रदेश १ (कोशी) मा हामी पहिलो हुन्छौं । १४ जिल्लामै हाम्रा सांसद जित्ने अवस्था छ ।’
धनकुटा स्थायी घर भएका राजनीतिक विश्लेषक हेमराज भण्डारी हर्कको अभियानले पुराना दलहरूलाई ठूलो चुनौती थपिएको बताउँछन् । हर्कको अभियानले पुराना दलहरूको गढ भत्काउने उनको दाबी छ । ‘पूर्वमा अहिलेसम्म जसरी उहाँ जानुभएको छ, त्यसलाई हेर्दा पुराना पार्टीहरुलाई राम्रै धक्का पु¥याउने देखिन्छ । केही ठाउँमा पुराना पार्टीहरूको गढ भत्किन्छ,’ भण्डारीले भने ।
उनले धनकुटा लगायतका पहाडी जिल्ला र पूर्वका जनजाति बाहुल्य क्षेत्रमा साम्पाङको मनोवैज्ञानिक प्रभाव गहिरो परेको बताए । ‘उहाँहरुले छोटो समयमा जो विस्तार गरिरहनु भएको छ, त्यो राम्रै देखिन्छ । हर्कजीको नामको एउटा ब्रान्ड, ‘श्रम गरौँ देश बनाऔँ’ भन्ने सिम्बोलिक नाराले मान्छेलाई तानेको छ । ठूला कुरा नगर्ने, बरु श्रम गरेर देश बनाउने भन्ने म्यासेजले काम गरेको छ,’ भण्डारीले भने ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल पनि हर्क साम्पाङको उदय र अभियानले आगामी निर्वाचनमा परम्परागत नतिजा उल्ट्याउन सक्ने संकेत गरेको बताउँछन् । ‘कोशी प्रदेशको विभिन्न ठाउँहरुमा साम्पाङको अभियान राम्रै देखिएको छ । यसपटक मतदाता कुनै पार्टीप्रति पनि प्रतिबद्ध भएर, यो यसको गढ हो भनेर बस्ने अवस्था छैन । मतदाता कतै पनि जान सक्ने अवस्था छ अहिले,’ पोखरेलले भने ।
उनले झापा र पहाडी जिल्लाहरूमा काँग्रेस, एमाले र माओवादीको पकड मानिने क्षेत्रहरूमा समेत हर्क साम्पाङको अभियानले प्रभाव जमाएको बताए । ‘कुनै पार्टीको पनि गढ अब चाहिँ गढ रहँदैन । पूर्वका जनजातिहरुको बीचमा र तराईमा आइपुग्दा झापामा पनि राम्रै देखिएको छ,’ उनले थपे ।
अहिलेका ठूला पार्टीहरुले आगामी निर्वाचनमा पनि पुराना अनुहार (टेस्टेड नेता) दोहो¥याएमा नतिजा भयानक हुन सक्ने चेतावनी दिए । उनले भने, ‘पार्टीको संगठित सदस्य नै भोट हाल्न आएन भने के हुन्छ ? पार्टीहरुले उम्मेदवार उठाउँदा युवालाई उठायो भने एउटा कुरा, नत्र पहिल्यै मन्त्री भइसकेका टेस्टेड मान्छेहरू नै आफैँ अघि सरे भने चाहिँ खैरियत होला जस्तो लाग्दैन । हर्कको अभियानले ठूलै झड्का लाग्न सक्छ ।’



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!