विराटनगर । किराँत समुदायको महान् पर्व उँधौली (चासोक तङ्नाम) विराटनगर लगायत देशभर भव्य रूपमा मनाइएको छ। पितृ र प्रकृतिको सम्मानका रूपमा मनाइने यो पर्वको अवसरमा किराँत याक्थुङ चुम्लुङ विराटनगरले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको विविध भाषा, संस्कृति र परम्पराले नै मुलुकको स्वतन्त्रता र सार्वभौमसत्तालाई मजबुत बनाएको बताए। सोही अवसरमा नारायणकुमार यक्सोद्वारा लिखित ‘आनी मुन्धुम’ नामक पुस्तकको विमोचन गरियो। यस पुस्तकमा किराँत समुदायले जन्मदेखि मृत्युसम्म गर्ने संस्कारका बारेमा नेपाली भाषामा विस्तृत जानकारी समेटिएको छ।
किराँत समुदायले नयाँ अन्नबाली भित्र्याएको खुसीयालीमा आफ्ना देवी–देवतालाई अन्न चढाएर यो पर्व मनाउने गर्छन्। याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नामका रूपमा मनाउने यस पर्वमा चण्डी, च्याब्रुङ र ढोल नाच नाच्दै रमाइलो गर्ने परम्परा छ।
वैशाखमा उँभौली पूजा गरेर लेक चढ्ने र मंसिरमा उँधौली पूजा गरेर बेसी झर्ने प्राकृतिक चक्रसँग यो पर्व जोडिएको छ। खस आर्यको धान्य पूर्णिमा र नेवार समुदायको योमरी पूर्णिमाकै भाव बोकेको उँधौलीले सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।
तस्बिरहरु : सुजता लिम्बु







अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!