काँग्रेसले जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई कार्वाही गर्ने

काँग्रेसले जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई कार्वाही गर्ने

इटहरी । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुको पार्टी सदस्यता नविकरण नगर्ने निर्णय नेपाली काँग्रेस सुनसरीले गरेको छ ।

जिल्ला कार्यसमिति सुनसरीको बसेको बैठकले आन्दोलनमा हिंसा भड्काउने वा प्रत्यक्ष संलग्न कार्यकर्ताको नामावाली संकलन गरेर सदस्ता न विकरण नगर्ने निर्णय गरेको हो ।

त्यसको लागि वडा तहबाट संकलन गर्न जिल्ला समितिले निर्देशन दिएको छ । प्राप्त सूचिका आधारमा ती सदस्यहरूको नवीकरण प्रक्रिया रोक्ने निर्णय भएको जिल्ला सभापति केदार भण्डारीले जानकारी दिए । जिल्लाको निर्णयलाई आधार मानेर प्रदेश कार्यसमितिले समेत केन्द्रीय समितिमा सिफारिस गर्ने तयारी गरेको प्रदेश महामन्त्री उमेश थापाले बताएकाक छन् ।

पार्टीले गलत व्यक्तिलाई संरक्षण नदिने भन्दै काँग्रेसले आवश्यक परे निस्कासनसम्म गर्ने नीति अपनाएको छ । जेनजी आन्दोलनका क्रममा सुनसरीमा सरकारी सम्पत्तिमात्रै १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ । निजी क्षेत्रको क्षतिको भने अझै पूर्ण विवरण संकलन हुन बाँकी छ ।

इटहरीमा आन्दोलनका क्रममा ४० वर्षीय मोहन सरदार र १६ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि जिल्लाभरका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको थियो ।

आन्दोलनको हिंसात्मक गतिविधिमा धरान, इटहरी, इनरुवा तथा अन्य नगर क्षेत्रका मेयर, पूर्वमेयर, सांसद, पार्टी नेताहरूका निजी घर र पार्टी कार्यालयमा आगजनी तथा तोडफोड भएका थिए । काँग्रेसका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । एमाले नेता तथा प्रदेश मन्त्री रेवतीरमण भण्डारी, पूर्वमेयर मनोज मेन्याङ्वो, पूर्वसांसद जयकुमार राई, काँग्रेसका प्रदेश महामन्त्री उमेश थापा, विभिन्न वडा अध्यक्ष तथा स्थानीय नेताहरूको घर–व्यवसायमा समेत ठूलो क्षति पुगेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्