विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुंगा जिल्लाको महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया रद्द गरेको छ। जिल्ला सदरमुकाममा सम्पन्न भनिएको प्रतिनिधि छनौट प्रक्रिया विधि र निर्देशन विपरित भएको भन्दै केन्द्रले त्यसलाई अस्वीकार गरेको हो।
एमाले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ८ मध्ये ६ वटा पालिका कमिटीहरूको माग र बहुसंख्यक उम्मेदवारहरूको असहमति रहँदा रहँदै जबर्जस्ती प्रतिनिधि छनौट गरिएको उल्लेख छ। साथै, प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशन समेतको अवज्ञा गरी सदरमुकाममा सम्पन्न भनिएको उक्त निर्वाचन स्वीकार गर्न नसकिने पत्रमा स्पष्ट पारिएको छ।
केन्द्रले जिल्ला कमिटी ओखलढुंगालाई पत्र काट्दै प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सूचना सम्प्रेषण गरी पालिकास्तरमा नै मतदान केन्द्रको व्यवस्थापन गरेर पाँच दिनभित्र पुनः निर्वाचन गर्न कडा निर्देशन दिएको छ।
चार नेतालाई सहजीकरणको जिम्मेवारी
पुनः निर्वाचन प्रक्रियालाई निष्पक्ष, सहज र विवादरहित बनाउनका लागि केन्द्रले शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ। जसअनुसार प्रदेश ईञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरू विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई निर्वाचन प्रक्रियामा सहयोग र सहजीकरण गर्न तोकिएको जानकारी केन्द्रीय कार्यालयले गराएको छ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!