लोड हुँदैछ...

मेनु

भोजपुरमा निर्वाचनको तयारी : ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस

भोजपुरमा निर्वाचनको तयारी : ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस

भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा तयारी तीव्र गतिमा अघि बढेको छ ।

जिल्ला निर्वाचन कार्यालयले सोमबार मतदानस्थल तथा मतदान केन्द्रका विषयमा आवश्यक निर्णय गर्दै निर्वाचन आयोगलाई सिफारिस गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले पुरानै संरचना कायम गर्दै भोजपुरका लागि ८७ मतदानस्थल र १५५ मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको छ । तिवारीका अनुसार अहिले कुनै जटिलता नभएकोले स्थानीय अवस्था यथावत् राखिएको हो। तर, विशेष परिस्थिति देखिएमा पुनः बैठक बसेर आवश्यक समायोजन गर्ने बताइएको छ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत डिकेन्द्र सुवेदीका अनुसार मतदाता नामावली सङ्कलनको काम सकिएको छ । मङ्सिर २० देखि ३० गतेसम्म सूचीमा त्रुटि सच्याउने तथा दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, पत्रकारलगायत सरोकारवालाको सहभागिता थियो । भोजपुर जिल्लामा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।