धनकुटा । ठेकदार कम्पनीको अलमलका कारण धनकुटामा निर्माणाधीन पाँचतले अस्पताल भवनको काम ढिलाइ भएको छ ।
धनकुटा नगरपालिका–७ स्थित रेशम खेती विकास कार्यालयको नाममा रहेको २४ रोपनी जग्गामा कोशी प्रदेश सरकारले आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिरहेको छ ।
भवन निर्माणका लागि तत्कालीन सहरी विकास तथा भवन कार्यालयले २०७९–८० असारमा २८ करोड ३६ लाख ५२ हजार रुपैयाँमा नमुना कन्सट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । २०८३ असारभित्र काम सम्पन्न गर्ने लक्ष्य भएपनि २ वर्षभन्दा बढी समय बितिसक्दा करिब ४० प्रतिशत मात्र काम पूरा भएको छ । असारदेखि भने भवन निर्माणको काम नै रोकिएको छ ।
हाल तीन तलाको स्ट्रक्चर मात्रै बनेको छ। भवन निर्माणमा ढिलासुस्ती भएको गुनासो आएपछि अहिले पूर्वाधार विकास कार्यालयमा समाहित भइसकेको कार्यालयले निर्माण कम्पनीलाई १५ दिनभित्र रोकिएको काम सुरु गर्न निर्देशन दिएको छ । कार्यालयका निमित्त प्रमुख उत्तम नारायण खरेलका अनुसार समयसीमाभित्र काम सक्ने आधार प्रस्तुत गर्न कम्पनीलाई आदेश दिइएको छ।
निर्माण कम्पनीका प्रतिनिधि मुरारी अधिकारीले केही ढिलाइ भएपनि समयमै काम सक्ने दाबी गरेका छन् । जनशक्ति र उपकरण थप गरेर आयोजनालाई समयसीमाभित्रै सम्पन्न गर्ने प्रयास भइरहेको उनको दावी छ ।
गत आर्थिक वर्षमा अपेक्षाअनुसार काम अघि नबढ्दा विशेष अनुदानमार्फत प्राप्त १४ करोडमध्ये ४ करोड रुपैयाँ मात्र खर्च भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि ६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म करिब ४० प्रतिशत प्रगति देखिएको आयोजनामा ३४ प्रतिशत अर्थात् ९ करोड ५४ लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी भइसकेको छ ।
कोशी प्रदेश सरकारले २०७८ सालमै धनकुटा अस्पताललाई १५ शय्याबाट स्तरोन्नति गर्दै १०० शय्याको बनाउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार गत असोजमा प्रादेशिक शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।