धरान । सुनसरीको धरान–२० चिण्डेडाडा नजिक स्थित गुम्बा डाँडामा बौद्ध गुरु पद्म सम्भव (गुरु रिन्पोछे)को ४० फिट अग्लो मूर्ति निर्माण हुने भएको छ ।
निर्माणस्थल गुम्बाडाडामा आयोजित पत्रकार सम्मेलनमा ङाग्युर उर्गेन छ्योइखोलिङ गुम्बा तथा मूर्ति निर्माण समितिका अध्यक्ष कर्ण तामाङले परियोजनाबारे जानकारी दिएका हुन् ।
मूर्ति निर्माणलगायतको सम्पूर्ण परियोजनाको अनुमानित लागत ४ करोड ३० लाख रुपैयाँ छ । ६ कट्ठा क्षेत्रमा निर्माण हुने परियोजनाका लागि कोशी प्रदेश सरकारबाट हालसम्म ९ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । साथै स्थानीय सहयोगीहरूबाट ५ लाख रुपैयाँ संकलन भइसकेको समितिले जनाएको छ ।
समितिले ‘एक व्यक्ति, एक रड, एक इट्टा’ अभियानमार्फत थप सहयोग संकलन गरिरहेको जनाएको छ । अध्यक्ष तामाङले धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले परियोजनाप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । उनका अनुसार चिण्डेडाडामै सुम्निमा पारुहाङको प्रतिमा निर्माणमा नगरप्रमुखले स्वयम् पहल गरिरहे पनि बौद्ध गुरु रिन्पोछेको मूर्ति निर्माणतर्फ ध्यान दिएका छैनन् ।
परियोजनाले धरानको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने भएकाले स्थानीय सरकारको ध्यान आवश्यक रहेको निर्माण समितिको भनाइ छ । बौद्ध, तामाङ, लिम्बु, राई, मगर, विश्वकर्मा समुदायको बसोबास रहेको सो क्षेत्र सांस्कृतिक दृष्टिले बहुजातीय र बहुधार्मिक मानिन्छ ।
यसअघि २०७४ असार १ देखि बौद्ध गुरु टिकाराम लामा खेन रिन्पोछेको पहलमा २ तलाको गुम्बा र पाठशाला निर्माण भइसकेको छ । गुम्बा निर्माणका लागि धरान–२० का रहरमान तामाङले २ कट्ठा जग्गा निःशुल्क दान गरेका थिए । परियोजनाका लागि थप ४ कट्ठा जग्गा खेन रिन्पोछेले स्वयं खरिद गरेको समितिले जनाएको छ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!