विराटनगर । बाराको सिमरामा बुधबारदेखि उत्पन्न तनाव बिहीबार पनि जारी रहेको छ । बुधबारको झडपलाई लिएर जेनजी समूहले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले आज फेरि कर्फ्यू आदेश जारी गरेको हो ।
बिहीबार बिहानैदेखि जेनजी समूहका युवाहरूले प्रदर्शन गर्दै राजमार्ग बन्द गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, राजमार्ग खुलाउन गएको प्रहरी टोली र प्रदर्शनकारीबीच झडप भएपछि स्थिति थप तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि सिमराका निश्चित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । यद्यपि, बुधबारको तुलनामा आजको कर्फ्यूको दायरा सीमित पारिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
बुधबार नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने कार्यक्रम थियो । तर, जेनजी समूहले उनीहरुलाई रोक्न सिमरा विमानस्थल बाहिर विरोध प्रदर्शन गरेपछि तनाव सुरु भएको थियो ।
एमाले नेताहरुको स्वागतका लागि विमानस्थल पुगेका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि स्थिति हिंस्रक बनेको थियो ।प्रदर्शनकारीहरुले विमानस्थलको गेट तोडफोड गर्नुका साथै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।
तनावका कारण महासचिव पोखरेल र नेता बस्नेत सिमरा आउन नपाई काठमाडौं विमानस्थलबाटै फर्किएका थिए । बुधबार पनि स्थानीय प्रशासनले दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!