धरान । आवश्यक सामग्री अभावका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त चिकित्सा महाविद्यालय अन्तर्गतका सेवा प्रभावित भएका छन्।
दन्त विभागका अनुसार हाल करिब ३० प्रतिशत सेवा मात्रै सुचारु छन्।
प्रतिष्ठानले आवश्यक दन्त सामग्रीको आपूर्ति समयमा गर्न नसक्दा नक्कली दाँत बनाउने, सिमेन्ट भर्नेजस्ता महत्वपूर्ण सेवा बन्द छन्। दन्त चिकित्सकका अनुसार अहिले सामान्य चेकजाँच र दाँत निकाल्ने सेवा मात्र उपलब्ध छ।
अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले सूचना जारी गर्दै सामग्री अभावका कारण उपचार ढिलाइ हुन सक्ने र केही सेवा अस्थायी रूपमा सीमित गर्नुपरेको जानकारी दिएका छन्। आवश्यक सामान खरिद प्रक्रिया प्राथमिकताका साथ अघि बढाइरहेको पनि उनले उल्लेख गरेका छन्।
यसअघि उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकालमै सामग्री खरिदका लागि टेण्डर भएको थियो। एमएस गर्ग डेण्टल प्रालिले टेण्डर पाएपनि विवाद उत्पन्न भएपछि लामो समयसम्म सामग्री आपूर्ति रोकिएको थियो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरी छानबिन थालेपछि प्रतिष्ठानले टेण्डर नै रद्द गरेको थियो।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. सुर्य संग्रौलाले टेण्डर प्रक्रिया रद्द भएको पुष्टि गर्दै सेवा ठप्प हुन नदिन सर्ट–टर्मका लागि सामग्री किनेर सेवा चलाइने बताए । मुल्यांकन समितिमा एकरूपता नदेखिनु, पर्चेज अर्डर जारी नहुँदै सामान आएको दाबी हुनु र एकल बोलपत्रका कारण शंका बढेकाले टेण्डर रद्द गर्नुपरेको उनको भनाइ छ।
अख्तियारले पनि स्पष्टीकरण मागेकाले अध्ययन गरी जवाफ पठाउने तयारी भइरहेको रजिष्ट्रार संग्रौलाले बताए। उनले आवश्यकता परे छोटो अवधिका लागि सामग्री किनेर दन्त सेवा निरन्तरता दिइने पनि स्पष्ट पारे।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!