काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित विपक्षी दलका सांसदले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री यादवको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नसमेत आदेश दिएको छ । सर्वोच्च अदालतले रिटबारे मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने पनि जनाएको छ ।
इजलासले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न लगाई अन्तिम सुनुवाइका लागि सोही मितिमा पेस गर्न आदेश गरेको हो। मधेस प्रदेश सभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च गएका थिए।
सर्वोच्चको आदेशमा भनिएको छ ‘संविधानको धारा १६८ (४) बमोजिमको विश्वासको मत लिने प्रक्रिया पूरा नभइसकेको अवस्थामा राजीनामा दिएको स्थिति तथा सभाका बहुमत सदस्यले ऐ. उपधारा २ बमोजिम नै सरकार गठन गर्न आवेदन गरेको सन्दर्भमा उक्त आवेदनउपर कुनै निर्णय नगरी ऐ. उपधारा (३) बमोजिम मुख्यमन्वी नियुक्ति हुनसक्ने हो वा होइन भन्ने विषय अन्तिम निर्णय हुँदाका बखत निरूपण हुने प्रकृतिको देखिएको तर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रश्न प्रथम दृष्टिमै खडा भएको देखिँदा प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म मिति २०८२।०७।२३ मा गठन भएको भनिएको मन्त्रिपरिषदबाट कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय तथा नेपालको संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा हामीले अवलम्बन गरेको संसदीय प्रक्रियाको मूल्यमान्यताहरू विपरीतका कुनै पनि कार्यहरू नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) क बमोजिम विपक्षीहरूका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ।’

