विराटनगर । नेकपा (एकीकृत समाजवादी) विराटनगर महानगर कमिटी नेकपा (एमाले) मा समाहित भएको प्रचार गरिए पनि सबै नेताहरू नगएको खुलेको छ ।
एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत महानगर संयोजकसहितका नेताहरू एमालेमा प्रवेश गरेपछि एकीकृत समाजवादीले तत्कालै नयाँ कमिटी पुनर्गठन गरेको छ ।
सोमबार एमाले कोशी प्रदेश कमिटीको बैठकमा एकीकृत समाजवादीका महानगर संयोजक वीरेन्द्र यादवसहितका नेताहरू पार्टीमा प्रवेश गरेपछि सिङ्गो महानगर कमिटी नै समाहित भएको प्रचार गरिएको थियो । तर, उक्त प्रचारको भोलिपल्टै एकीकृत समाजवादीले नयाँ नेतृत्व चयन गर्दै पार्टी कमिटीलाई पुनर्गठन गरेको हो ।
एकीकृत समाजवादीले राजेन्द्र सुवेदीको संयोजकत्वमा ६१ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरेको छ । नवगठित कमिटीको सहसंयोजकमा कुमार तिवारी र मञ्जु पौडेल, सचिवमा किशन भगत, तथा सहसचिवमा विन्देश्वरलाल दास र अनवारुल साफी चयन भएका छन् ।
पार्टीका केही नेताहरू एमालेमा फर्किए पनि सिंगो कमिटी नै समाहित भएको भन्ने कुरा गलत भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य वासिम आलमले बताए । तत्काल नयाँ कमिटी गठन गरेर एकीकृत समाजवादीले विराटनगरमा आफ्नो संगठनात्मक संरचना कायमै रहेको सन्देश दिएको छ ।

