आगामी निर्वाचनको लागि ६ लाख नयाँ मतदाता थपिए

आगामी निर्वाचनको लागि ६ लाख नयाँ मतदाता थपिए

विराटनगर । आगामी फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार रातिसम्म अद्यावधिक विवरणअनुसार आयोगका विभिन्न कार्यालय पुगेर तथा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीबाट नयाँ मतदाता थप भएका हुन् ।

आयोगका कार्यालयबाट ३ लाख ११ हजार ४१५ मतदाताले फोटो खिचाएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक विवरणमार्फत् ३ लाख ८ हजार ५८५ जना मानिसहरूको मतदाता नामावलीमा नाम सूचीकृत भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको समय मंसिर ५ गतेसम्मका लागि थप गरेको छ । यसअघि कात्तिक मसान्तको लागि तोकिएको म्याद थप भएको हो । १८ वर्ष उमेर पूरा भएकाहरूले उक्त मतदानमा भाग लिन पाउनेछन्।