महेन्द्र मोरङ क्याम्पसको शिक्षाशास्त्र संकायका संयोजक यादवमाथि अनियमितताको आरोप

महेन्द्र मोरङ क्याम्पसको शिक्षाशास्त्र संकायका संयोजक यादवमाथि अनियमितताको आरोप

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शिक्षाशास्त्र संकायका संयोजकमाथि अनियमिततताको आरोप लागेको छ ।

कार्यक्रम संयोजक राजकुमार यादवमाथि पदीय दुरुपयोग, आर्थिक हिनामिना र शैक्षिक गतिविधिमा मनोमानी गरेको आरोप लागेको हो ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसमा कार्यरत शिक्षकहरूले सामूहिक हस्ताक्षरसहित २५ बुँदे ज्ञापनपत्र बुझाउँदै संयोजक यादवको बर्खास्तीको माग गरेका छन् । क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुख डा. सुशील अधिकारी र त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका अध्यक्ष नवीन अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा यादवमाथि छान।िवनको माग गरिएको छ ।

२०८१ साउन ४ गते पदभार सम्हालेपछि यादवले संकायमा अव्यवस्था र मनोमानी निर्णय गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ । शिक्षकहरूले बीएड दोस्रो वर्षका स्वास्थ्य तथा शारीरिक शिक्षा तथा अंग्रेजी शिक्षाका प्रयोगात्मक परीक्षामा आन्तरिक सुपरिवेक्षकलाई दिनुपर्ने पारिश्रमिक नदिएको, सुपरिवेक्षकको हस्ताक्षर आफैं सिर्जना गरेर लेखाबाट रकम निकालेको, आंशिक शिक्षकहरूको हाजिरी तालिका मनोमानी रूपमा घटाएर पारिश्रमिक भुक्तानी गरेको र विद्युतीय हाजिरी नभएका कक्षालाई सञ्चालन भएको देखाई रकम बुझेको आरोप लगाइएको छ ।

एमएड उत्तीर्ण नभएपनि शिक्षण अभ्यास समितिमा बसेर नियमविपरीत निर्णयमा प्रभाव पारेको, बीएड र एमएड दुवै कार्यक्रमको संयोजक बनेर अधिकार दुरुपयोग गरेको, कक्षामा विद्यार्थी र शिक्षकलाई धम्क्याउने काम गरेको आरोप पनि यादवमाथि लागेको छ । संकायले आयोजना गरेको एकदिने वर्कसपका लागि संकलित ३५ हजार रुपैयाँ हिनामिना गरेको आरोप पनि उनीमाथि लगाइएको छ ।

आंशिक प्राध्यापक रामकुमार मेहताले संयोजक यादव आएपछि संकायको वातावरण पूर्ण रूपमा बिग्रिएको बताए । पदको दुरुपयोग गर्दा संस्था नै जोखिममा परेपछि शिक्षकहरू एकजुट हुन बाध्य भएको उनको भनाइ छ ।

संयोजक यादवले भने आफूविरुद्धका सबै आरोपहरूलाई निराधार र योजनाबद्ध षड्यन्त्रको उपज भएको दावी गरेका छन् । कुनैपनि अनियमितता नगरेको दाबी गर्दै उनले आरोप साबित गर्नै पर्ने चुनौती दिएका छन्।