एकीकृत समाजवादी धनकुटा एमालेमा समाहित भएकै हो ?

एकीकृत समाजवादी धनकुटा एमालेमा समाहित भएकै हो ?

धनकुटा। नेकपा (एकीकृत समाजवादी) धनकुटा जिल्ला कमिटीको शुक्रबार बसेको बहुमत सदस्यहरुको बैठकले नेकपा (एमाले)मा समाहित हुने निर्णय गरेको छ ।

सो निर्णयबारे शुक्रबार पत्रकार सम्मेलन गरी अध्यक्ष अर्जुन राईले सार्वजनिक गरे । उनका अनुसार पार्टीभित्र चलिरहेको लामो समयको छलफल, वाम पुनर्गठनका प्रयास र देशभर देखिएको राजनीतिक परिवर्तनका बीच जिल्ला कमिटी एकमतले समाहित गर्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राई, उपाध्यक्ष खगेन्द्र सुबेदी र सचिब जेबी राईसहितका नेता सहभागी थिए ।

उता, शनिबार एक विज्ञप्ति जारी गर्दैै एकीकृत समाजवादी धनकुटाका केही नेताहरुले नेकपा एमालेमा समाहित भएको भनी प्रचार प्रसार भएकोमा आपत्ति जनाएको छ ।

जिल्ला उपसचिवसहित पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षहरुले सिंगो पार्टी एमालेमा समाहित भएको भन्ने हल्ला मात्र भएको विज्ञप्तिमार्फत जनाएका हुन् ।

विज्ञप्ति जारी गर्नेहरुमा उपसचिव गोपाल बराइली, जिल्ला सचिवालय सदस्य तथा सहिदभुमी गाउँपालिका इन्चार्ज योगेन्द्र राई, सहिदभुमी पालिका कमिटी अध्यक्ष बाबुराम राई, पाख्रिबास इन्चार्ज तथा सचिवालय सदस्य बेदबहादुर बस्नेत, छथरजोरपाटी इन्चार्ज तथा सचिवालय सदस्य शारदा प्रसाद दाहाल, महालक्ष्मी नगर अध्यक्ष तथा सचिवालय सदस्य लालबहादुर महतरा, जिल्ला कमिटी सचिवालय सदस्य गोपाल राईलगायत छन् । उनीहरुले केही व्यक्तिहरुले सिंगो कमिटी अन्य पार्टीमा समाहित भयो भनेर कार्यकर्तामा भ्रम छर्ने काम भएको आरोप लगाएका छन् ।