विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण न भण्डारीले आफूले घरभाडा नभएर कानुन अनुसार आवास सुविधा लिएको बताएका छन् ।
सुनसरीको इहहरीस्थित आफ्नै घरमा बसेर मन्त्री भण्डारीले राज्यकोषबाट मासिक २९ हजार रुपैयाँ घरभाडा बुझ्नै आएको समाचार हाम्रोमले सार्वजनिक गरेको थियो । त्यसपछि उनले शुक्रबार विज्ञप्ति निकालेर समाचार भ्रामक भएको आरोप लगाएका छन् ।
सञ्चारमाध्यममा आएको समाचार भ्रामक, झुटा र तथ्यहीन भएको मन्त्री भण्डारीको दावी छ । जबकी मन्त्री भण्डारीले घरभाडा लिने गरेको समाचार उनकै मन्त्रालयले सूचनाको हक प्रयोग गरि माग गर्दा दिएको सूचनाको आधारमा प्रकाशन गरिएको हो । समाचारमा मन्त्रालयले दिएको पत्रसमेत उल्लेख छ । मन्त्रालयका शाखा अधिकृत सुभाष कार्कीले दिएको पत्रमा मन्त्री भण्डारीले घरभाडावापत मासिक २९ हजार रुपैयाँ लिने गरेको र अहिलेसम्म २ लाख ९० हजार रुपैयाँ बुझिसकेको उल्लेख छ ।

मन्त्री भण्डारीले घरभाडा नभएर कानुन अनुसार आवास सुविधा लिएको बताउँदै त्यसलाई घरभाडा भन्न नमिल्ने जिकिर गरेका छन् । ‘मैले लिएको उक्त रकम घरभाडा हुँदै हैन’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो रकम मन्त्री हुँदा आवासमा बसेवपापत सृजना हुने रकम हो ।’ सरकारी आवासमा बस्दा मासिक १ लाख रुपैयाँसम्म खर्च हुने भएकोले आफूले घरमै बसेर सरकारको रकम बचत गरेको मन्त्री भण्डारीले दावी गरेका छन् ।
मन्त्री भण्डारीले गरेको दावी आफैंं झुटो हो । मन्त्रीलाई सरकारले आवासको व्यवस्था गर्दा पनि मासिक २९ हजार रुपैयाँको सीमाभित्र गर्नुपर्ने कानुनी व्यवस्था छ । मन्त्रीको क्वाटरको लागि भाडामा लिएको घरमा त्योभन्दा बढि रकम खर्च हुने भएमा मन्त्री स्वयम्ले त्यो रकम व्यहोर्नुपर्ने व्यवस्था छ । त्यसविपरित १ लाख खर्च हुनेमा आफूले बचाएको हाँस्यास्पद दावी भण्डारीले गरेका छन् ।
कोशी प्रदेश सभा ऐन २०७५ मा ‘मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन’ अनुसार मन्त्रीहरूले प्रदेश राजधानीमा उपयुक्त सरकारी आवास नपाएमा कानुनले तोकेको आवास सुविधा पाउने व्यवस्था छ । मन्त्रालयका कर्मचारीहरुको अनुसार त्यो आवास सुविधा घरभाडा वापत दिइने सुविधा हो । घरमा बसेवापत दिइने सुविधा हैन ।
सञ्चारमाध्यमहरूले आफूले घरभाडा लिएको वा अनियमितता गरेको जस्तो देखाएर भ्रम फैलाइएको आरोप मन्त्रीले लगाएका छन् । जबकी उनले घरभाडा लिएको कुरा उनकै मन्त्रालयले लिखित पत्र नै दिएको छ ।
मन्त्री भण्डारीले आफू इटहरीको घरमा बस्दा श्रीमतीले १५ लाख रुपैयाँ ऋण निकालेर खर्च गर्नुपरेको भन्दै असान्दर्भिक विषय पेश गरेर आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।


