विराटनगर । जेनजी आन्दोलनको आवरणमा भदौ २४ गतेको विध्वंशमा संलग्न २१ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने समूहका २१ जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ जना र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । यस्तै मझारे प्रहरी चौकीमा आगजनी गरिएको थियो । आगजनी र तोडफोड गरेर थुनुवा केही भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो ।
आन्दोलनको क्रममा विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा विभिन्न प्रहरी बिटहरुमा आगजनी र तोडफोड गरिएको थियो । प्रदेशसभामा प्रहरीको एउटा गाडी जलाइएको थियो । यस्तै ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड गरिएको थियो ।
प्रहरीले त्यस दिनको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुको भिडियो र फोटोको पहिचान गरि पक्राउ थालेको हो । उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दासलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् । विराटनगर र जहदाबाट पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह, विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको छ । उनीहरुमाथि थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए ।
अपराधिक घटनामा संलग्न जोकोहीले उन्मुक्ति नपाउने प्रहरीले जनाएको छ । सो दिन सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान र निजी घरमा तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्न १५० भन्दा धेरैको पहिचान भइसकेको प्रहरी स्रोतले जनाएको छ । उनीहरु क्रमशः पक्राउ पर्ने बताइएको छ ।
सपी कटवालले भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको बताएका छन् । ‘सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको उनको भनाइ छ ।
आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरुको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई उक्साउनेहरुमाथि पनि निगरानी बढाएको प्रहरीले जनाएको छ ।
