धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सरसफाइ मजदुरहरूले सरकारले तोकेको न्युनतम ज्याला र श्रम ऐनले सुनिश्चित गरेका सेवा–सुविधा नपाएको भन्दै गुनासो गरेका छन्।
ठेकेदार कम्पनीमार्फत लामो समयदेखि शोषणमा परेको भन्दै उनीहरूले मजदुर नेताहरूसँग न्याय मागेका हुन्।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय समिति सदस्य भीमज्वाला राईसहितको भेटमा मजदुरहरूले तलब, विदा, बिमा तथा अन्य आधारभूत सुविधाबाट वञ्चित रहेको पीडा सुनाएका हुन् । सफाइ मजदुर भीम लिम्बूले राज्यले तोकेको १९ हजार ५५० रुपैयाँ तलब नपाएको बताए ।
मजदुर टंकबहादुर श्रेष्ठले चार वर्षदेखि लगातार काम गरिरहे पनि कानुनी रूपमा तोकिएका कुनै सुविधा नपाएको बताए । मजदुर रुद्र राईका अनुसार ठेकेदार कम्पनीले रोजगार सम्झौताबिनै ६–६ महिनामा मजदुरलाई निकाल्ने गरेको छ । मुनादेवी बस्नेतले कानुनले तोकेको वार्षिक र साप्ताहिक विदासमेत नपाएको गुनासो गरिन् ।
प्रतिष्ठानको करिब ९ हेक्टर क्षेत्रमा सरसफाइका काममा लागेका १४० जना मजदुर अप्पुश्री इन्टरप्राइजेज प्रालिमार्फत २२ वर्षदेखि कार्यरत छन् । तर, उनीहरूलाई अझैसम्म न्युनतम ज्याला तथा आधारभूत सेवा–सुविधा नदिइएको नेपाल सफाइ कर्मचारी युनियन घोपा इकाईले जनाएको छ ।
युनियनकी केन्द्रीय उपाध्यक्ष यामकला मगरातीले सरकारद्वारा तोकिएको न्युनतम तलब कार्यान्वयनका लागि संघर्षमा उत्रने चेतावनी दिएकी छन् । मजदुर नेता राईले श्रम ऐन २०७४ ले श्रमिक शोषणका लागि ठेक्काप्रथा प्रोत्साहित गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा जिफन्ट धरान अध्यक्ष समशेर बर्देवा, उपाध्यक्ष कमल भट्टराई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सुरक्षा श्रमिक ट्रेड युनियन नेपालका उपाध्यक्ष प्रेम कुँवरलगायत सहभागी थिए ।
