इटहरी । विश्व मधुमेह दिवसको अवसरमा सुनसरीको इटहरीमा शुक्रबार विशेष जनचेतनामूलक र्याली निकालिएको छ ।
नवदृष्टि आँखा अस्पतालले आयोजना गरेको र्याली इटहरी चौक परिक्रमा गर्दै सम्पन्न भएको थियो ।
अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरूले प्ले–कार्डसहित सहभागिता जनाउँदै मधुमेह र आँखाको स्वास्थ्यबीचको सम्बन्धबारे सन्देश प्रवाह गरे । १४ नोभेम्बरलाई विश्व मधुमेह दिवसका रूपमा मनाउन थालिएको इतिहास करिब एक शताब्दी पुरानो मानिन्छ ।
इन्सुलिनका आविष्कारक सर फ्रेड्रिक बान्टिङको जन्मदिन यही दिन परेकाले विश्वभर मधुमेहबारे चेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । इन्सुलिनको आविष्कारले मधुमेह उपचारमा ल्याएको क्रान्तिकारी परिवर्तन आज पनि चिकित्सा इतिहासको महत्वपूर्ण उपलब्धि मानिन्छ ।
र्यालीमा सहभागी नवदृष्टि आँखा अस्पतालका सञ्चालक विजय गौतमले मधुमेह केवल रगतको चिनी सन्तुलनमा सीमित नहुने बताए । उनका अनुसार, मधुमेहका बिरामीमा आँखासम्बन्धी समस्या विशेषगरी डायवेटिक रेटिनोप्याथी देखिने सम्भावना धेरै भएकाले नियमित आँखाको जाँच अनिवार्य छ ।
खानपान, व्यायाम तथा तौल नियन्त्रणका उपाय अपनाएर धेरैले मधुमेहको जोखिम घटाउन सक्ने चिकित्सकले बताएका छन् । मधुमेह विश्वभर तीव्र रूपमा बढिरहेको जीवनशैलीजन्य रोग हो । नेपालमा समेत यसको जोखिम चुलिँदै गएका बेला इटहरीमा गरिएको यस्तो सचेतनामूलक अभियानले समुदायलाई मधुमेहबारे थप सजग बनाउन मद्दत गरेको सहभागीहरूको भनाइ छ ।
सन् २०१८ मा “स्वस्थ आँखा, सुन्दर संसार” भन्ने नारासहित स्थापना भएको नवदृष्टि आँखा अस्पतालले छोटो समयमै पूर्वी नेपालका बिरामीको विश्वास जित्न सफल भएको छ। आधुनिक प्रविधिसहित कोर्निया, रेटिना, ग्लुकोमा, ओकुलोप्लास्टी, न्युरो–अप्थाल्मोलोजी, पेडियाट्रिक अप्थाल्मोलोजी, भिजन थेरापी, लो–भिजन, डिस्पेन्सिङ लगायत सुपर–स्पेशालिटी सेवा विस्तार गर्नु अस्पतालको दीर्घकालीन योजना रहेको छ।
