विराटनगर । शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहन सफल बिराटनगर – २ स्थित बुढानिलकण्ठ अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो वार्षिक पुरस्कार वितरण सम्पन्न गरेको छ । गत शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने तथा विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको हो ।
समारोहमा शैक्षिक सत्र २०८१ मा कक्षा नर्सरीदेखि यूकेजीसम्म सबैभन्दा बढी अंक ल्याउने छात्रा रिया राजवंशीलाई नगद तीन हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी, कक्षा १ देखि ५ सम्म उच्चतम अंक ल्याउने छात्रा निहाना भट्टराईले नगद ४ हजार र कक्षा ६ देखि ८ सम्म उच्चतम अंक ल्याउने छात्र अनुभव पौडेलले नगद ६ हजार रुपैयाँ प्राप्त गरे । कक्षा ९ बाट सबैभन्दा बढी अंक ल्याउने छात्र किसन अग्रवाललाई विद्यालयका संस्थापकद्वय खगेन्द्र पाण्डे र ज्ञानु पाण्डेको तर्फबाट १० हजार १ सय ५ को ‘फाउन्डर्स अवार्ड’ प्रदान गरिएको थियो ।
यी सबै पुरस्कृत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रशंसापत्र पनि प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल मणीराज भट्टराई र अध्यक्ष बुद्धिबहादुर प्रधानले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।
विद्यालयले हरेक कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मासिक शुल्कमा क्रमशः ७५, ५० र २५ प्रतिशत छुटको व्यवस्था गरेको समेत जानकारी गराएको छ ।
कार्यक्रममा विभिन्न विधामा पनि पुरस्कार वितरण गरिएको थियो । जसमा ‘बेस्ट ब्वाई’ को उपाधि किसन अग्रवालले, ‘बेस्ट गर्ल’ को उपाधि सरस अधिकारीले र ‘बेस्ट अलराउन्डर’ को उपाधि आयुष ढुंगानाले जितेका थिए । विद्यालयका चार सदनमध्ये, वर्षभरिको विभिन्न कार्यक्रम र शैक्षिक गतिविधिहरुको मूल्यांकनको आधारमा ‘ब्लु हाउस’ विजेता घोषित भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल मणीराज भट्टराईले पुरस्कार विजेता विद्यार्थीहरुलाई बधाई दिँदै भविष्यमा अझै राम्रो गर्न हौसला प्रदान गरे । उनले पुरस्कार नपाउने विद्यार्थीहरुलाई पनि निराश नभई अर्को पटक सफल हुने आकांक्षाका साथ अगाडि बढ्न प्रेरित गरे । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा उद्घोषणको जिम्मा विद्यालयका प्रमोटर तथा सञ्चालक सन्देश सुबेदीले लिएका थिए ।
