चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनको क्रममा २३ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँगको भेटघाटमा उनले उक्त घटनामा तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलायो थाहा छैन’ भन्नु गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् ।
पाण्डेले भने ‘धरहरा कसले बनायो भन्दा तत्कालीन सरकारले बनाएको भन्ने, तर गोली कसले चलायो भन्दा थाहा छैन भन्न मिल्दैन ।’ उनले २३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेको छन् ।
उपाध्यक्ष पाण्डेले पहिलो दिनको घटनामा सरकार दोषी भएजस्तै २४ गते भएको आगजनी र तोडफोडको घटना पनि अक्षम्य अपराध भएको बताए । देशमा कानूनी शासन स्थापित गर्न दुवै दिनका घटनाका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने उनको भनाइ थियो ।
घटना हुँदा नेकपा एमाले नै सरकारमा रहेको प्रसङ्ग उल्लेख गर्दै पाण्डेले छानबिनमा सहयोग गरेर यो घटनाको दागबाट पार्टी मुक्त हुनुपर्ने बताए । ‘नत्र माओवादीका नेता कार्यकर्ता जस्तै कहिले समातिइन्छ भन्ने त्रासमा बस्नुपर्ने दिन आउनसक्छ,’उनले चेतावनी दिए ।
पाण्डेले जेन–जी आन्दोलन एमालेको गम्भीर कमजोरीको उपज भएको समेत स्वीकार गरेमन छन् । पार्टी र सरकारका संयन्त्रहरूलाई यति ठूलो आन्दोलन र सम्भावित विध्वंसको बारेमा पूर्वसूचना नहुनुलाई उनले ठूलो कमजोरीको रूपमा व्याख्या गरेका छन् ।
फरक प्रसङ्गमा, उपाध्यक्ष पाण्डेले वर्तमान सरकारले तोकिएको समयमा चुनाव गराउन सक्नेमा गम्भीर शंका व्यक्त गरेका छन् । उनले चुनावका लागि आवश्यक पर्ने प्राविधिक, राजनीतिक र मनोवैज्ञानिक तयारी सरकारले गर्न नसकेको आरोप लगाए ।‘फागुन २१ मा चुनाव गराउन निकै कठिन छ, चुनावको मनोविज्ञान नै बनेको छैन,’पाण्डेले भने ‘तर, चुनाव नभएमा देश अझ ठूलो अन्योलमा फस्नेछ ।’ दलहरू चुनावका लागि सकारात्मक भए पनि सरकारले दलहरूसँग संवादमा उदासिनता देखाएको उनको टिप्पणी थियो ।
पार्टीको आसन्न महाधिवेशनको बारेमा बोल्दै पाण्डेले नेतृत्व चयन प्रतिस्पर्धाबाटै हुने दाबी गरेका छन् । आठौँ महाधिवेशनदेखि नै एमालेमा प्रतिस्पर्धाको राजनीति सुरु भएको स्मरण गर्दै उनले भने ‘हाम्रो महाधिवेशनमा सबै प्रतिनिधि बराबर हुन् । प्रतिस्पर्धा कसैले रोक्न सक्दैन र प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ ।’


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।