लोड हुँदैछ...

मेनु

कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्का नियुक्त

कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्का नियुक्त

विराटनगर । लामो समयदेखि रिक्त रहेको कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् ।

संघीय संसद सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् ।

प्रदेश सभाका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको नियुक्ति सिफारिस पत्र लिएर खड्का प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । उनको शपथग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अवस्थामा थियो । पराजुलीलाई पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले ६ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका थिए ।

सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन् । उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म संघीय संसद सचिवालयमा सचिवका रूपमा कार्यरत थिए । संघीय संसदको महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए ।

नवनियुक्त सचिव खड्कासँग संघीय संसदमा लामो समय काम गरेको अनुभव छ । उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा संघीय संसद सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए ।

खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (एक वर्षे बीएड) गरेका छन् । खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् ।

प्रदेशसभाका सचिव पराजुली भ्रष्टचारी ठहर भएर स्वतः पदमुक्त भएपनि सचिव नियुक्त हुन सकेको थिए । पराजुलीलाई केहि समय अगाडि प्रदेशसभाले विदाई गरेको थियो । त्यसपछि मात्र सचिव नियुक्तिको प्रक्रिया अगाडि बढेको हो । बिदाइ कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर लिङ्थेपले पराजुलीलाई आफ्नो पार्टीमा सक्रिय राजनीति गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।