ताप्लेजुङ । सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको टोलीले भारतसँग जोडिएको ताप्लेजुङको सीमावर्ती क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीले सीमाको सुरक्षा, सरसफाई अभियान सञ्चालन गर्दै स्थानीयसँग अन्तरक्रिया गरेको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई र सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा सिदिङवा गाउँपालिका-१ कालीखोला तिम्बुङ पोखरी क्षेत्रदेखि भारतको सीमावर्ती ग्याल्सिङ नजिकसम्मको क्षेत्र अनुगमन गरिएको थियो। भारतीय सुरक्षाकर्मीहरूसँग संयुक्त रूपमा सीमा अनुगमन गस्ती गरिएको र सरसफाई अभियान सञ्चालन गरिएको जानकारी प्राप्त भएको छ।
सीमावर्ती क्षेत्रको कालीखोला आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै सीमाका विषयमा अभिभावक र शिक्षकसँग अन्तरक्रिया गरिएको थियो। प्रधानाध्यापक नन्दराम बानियाँले जानकारी दिए अनुसार, यस कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर राई सहितका स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले पाँचथरको चिवा भन्ज्याङ क्षेत्रमा समेत भ्रमण गरेको थियो। ताप्लेजुङमा ८५ किलोमिटरभन्दा बढी भारतीय सीमा रहेको हुँदा यस किसिमको अनुगमन र स्थानीय संलग्नता सीमा सुरक्षा र समुदाय सशक्तिकरणका लागि महत्त्वपूर्ण रहेको बताइएको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।