विराटनगर । नेककपा माओवादी केन्द्रको अगुवाईमा १० बाम दल मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन हुँदा पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा र पूर्वसचिब राम कार्कीसहितका नेताहरुले एकता अस्स्वीकार गर्दै अलग अभियान थालेका छन् ।

एकतामा गएर माओवादीको पहिचान र इतिहास मेटाउने प्रयास गरेको भन्दै शर्माले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए । उनले कार्कीसँग मिलेर प्रगतिशील अभियान घोषणा गरेका छन् । पार्टीमा प्रभाबशाली रहेका शर्माले एकता प्रक्रिया अस्वीकार गर्दै अलग अभियान थालेपछि विगतमा उनलाई साथ दिँदै आएका नेता तथा कार्यकर्ताले पनि उनको साथ छाडेका छन् ।

यहाँसम्मकी एकता सभामा सहभागी नभई शर्माको पत्रकार सम्मेलनमा सहभागी भएकी नेतृ अंजना विशंखे पनि एकता प्रक्रियामा सहभागी भइसकेकी छन् । विगतमा शर्मा निकट भनेर चिनिएका अधिकांश नेता तथा कार्यकर्ताले पनि पार्टी विभाजन नभएर एकताको बाटो रोज्दा शर्मा करिब एक्लिएका छन् ।

कोशी प्रदेशमा शर्माको बलियो प्रभाब रहेको मानिन्थ्यो । पार्टीको प्रदेश कमिटिका अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोसहित बहुमत पदाधिकारी शर्माको निकट रहेको बताउने गरिन्थ्यो । नेम्बाङ शर्मा अर्थमन्त्री हुँदा उनको स्वकीय सचिव थिए । तर, अध्यक्ष नेम्बाङसहित कुनै पनि प्रदेशका पदाधिकारीले शर्मालाई साथ दिएनन् ।

पार्टीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि शर्मा निकट भनेर चिनिन्थे । उनले पार्टीका बैठकमा शर्माको पक्षमा कुरा राख्दै आएका थिए । तर, उनले पन िशर्मालाई साथ दिएनन् ।

त्यसबाहेक कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरुमा करिब एक दर्जनले विगतमा शर्मालाई साथ दिँदै आएका थिए । माओवादी केन्द्रको गत असोजमा बसेको केन्द्रीय समितिको बैठकमा शर्मालाई साथ दिएका नेता तथा कार्यकर्ताहरुले पनि शर्माको नयाँ अभियानमा साथ दिएनन् । त्यसेबला इलामका धिरेन्द्र शर्मा, ताप्लेजुङका मिङ्मा डण्डु शेर्र्पा, झापाको लक्ष्मी न्यौपाने, मोरङका शिवकुमार मण्डल, सुनसरीबाट शिबकुमार डाँगी, भोजपुरका सुदन किराती, सोलुखुम्बुका गोम्बु शेर्पा, प्रदेश अध्यक्ष नेम्बाङ, संसदीय दलका नेता आङ्बोसहितले शर्माको पक्षमा बोलेका थिए ।

अहिले शर्माले थालेकोक अभियानमा भने भोजपुरका सुदन किराती मात्र खुलेका छन् । त्यसबाहेक मोरङका शिवकुमार मण्डल मौन रहँदा अन्य नेताहरु नेपाली कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा सहभागी भएका छन् । एकता सम्मेलनमा सहभागी नभएका मण्डल भने अहिले आफूले कुनै निर्णय गरिनसकेको बताउँछन् ।

‘मैले कुनै निर्णय गरेको छैन, साथीहरुसँगको परामर्शमा छु’ उनले भने, ‘अहिले मलाई विभाजनको पक्षमा रहेको भनेर जोड्नु गलत हुन्छ ।’ नेता मण्डललाई सोमबार पार्टीका प्रदेश सचिव गणेश उप्रेती, मोरङ इञ्चार्ज कुशल लिम्बू, केन्द्रीय सदस्य भोगेन्द्र यादवसहितका नेताहरुले भेटेका छन् । त्यसक्रममा विभाजनको बाटोमा नलाग्न आग्रह गरेको नेता यादवले बताए । मण्डलले पनि आफू विभाजनको पक्षमा नरहेको भन्दै पार्टी र नेतृत्वप्रति प्रश्न तथा गुनासो रहेको बताएका थिए ।

शर्माको अभियानमा नरहेको बताएका मण्डलले आफ्नो सामाजिक सञ्जालमा भने शर्माका गतिबिधिहरु शेयर गरिरहेका छन् । त्यसले गर्दा उनी शर्माकै अभियानमा लाग्ने देखिएको पार्टीका एक नेताले बताए । ‘विगतमा मण्डलजी शर्माको पक्षमा र अन्य नेताकाके विरुद्ध उग्ररुपले लागेको कारण पनि अहिले समस्या भएको छ’ उनले भने, ‘मण्डलजी उतै लाग्ने हो, कार्यकर्तालाई फकाइरहेको देखिन्छ ।’

प्रदेशबाट किराती शर्माको पक्षमा खुल्दा किराती मन्त्री हुँदा उनको स्वकीय सचिव रहेका हेमन्त राईले साथ दिएका छन् । राई अखिल क्रान्तिकारीका पराजित अध्यक्ष हुन् । यस्तै शर्माको सचिवालयमा सहयोग गर्दै आएका अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन भट्टराईले पनि उनलाई साथ दिएका छन् । त्यसबाहेक विद्यार्थी र युवाको पंक्तिले पनि उनलाई साथ नदिएको बताइन्छ ।