विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्यमोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तीन दिने शोक मनाउने निर्णय गरेको हो ।
रौतहटको इट्टाभट्टामा जिउँदै मान्छेलाई पोलेर हत्या गरेको आरोपमा जेलमा रहेका आलम उच्च अदालतले विवादित रुपमा सफाइ दिएपछि जेलबाट बाहिर निस्किएलगत्तै विरामी भएका थिए । उनको उपचारको क्रममा शनिबार काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा निधन भएको थियो ।
आलमलाई पहुँच र प्रभाबको कारण सफाइ दिएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । काँग्रेका सभापति शेरबहादुर देउवाले आलममाथि अन्याय भएको भन्दै उनलाई जसरी पनि न्याय दिलाउने बताउँदै आएकोमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला उनले उच्च अदालत जनकपुरबाट सफाइ पाएका थिए । रौतहट जिल्ला अदालतले भने उनलाई जन्मकैद गरेको थियो ।
२०६४ सालमा निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलमलाई लागेको थियो । आलमले जिउँदै मान्छे जलाएको घटना नै नभएको र शव पनि नभेटिएको भन्दै उच्चले उनलाई सफाइ दिएको थियो ।
उच्चको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ । सर्वोच्चको फैसला आउन बाँकी छँदै आलमको मृत्यु भएको हो ।
काँग्रेस केन्द्रीय कार्यसमितिले आलमको निधनले पार्टीले एक अनुभवी र समर्पित नेता गुमाएको जनाएको छ । बैठकले उनको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेको छ ।
शोक सन्देशसहित कांग्रेसले देशभर ३ दिने शोक कार्यक्रमको घोषणा गरेको छ। कात्तिक २२, २३ र २४ गते पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाइने छ । त्यस्तै कात्तिक २३ गते सबै कार्यालय बन्द रहने छन् । १३ दिनसम्म शोक पुस्तिका राखिने छ भने सम्बन्धित जिल्लामा शोकसभा आयोजना गरिनेछ ।
यसैबीच नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले गरेको योगदान अविस्मरणीय रहने बताएका छन् । ‘नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनले दुःखी बनाएको छ’, कोइरालाले लेखेका छन्, ‘आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनुभएको योगदान सधैँ अविस्मरणीय रहिरहनेछ। शोकाकुल यस समयमा स्व. मोहम्मद अफताब आलमप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।