विराटनगर । विराटनगरमा सञ्चालनमा रहेको बृहत्तर खानेपानी परियोजनाको ६० प्रतिशत काम पुरा भएको छ ।
महानगरबासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको २ अर्ब ५४ करोड रुपैयाँको परियोजना जापान सरकार सहयोग नियोग (जाइका) को आर्थिक अनुदान सहयोगमा सञ्चालन भएको हो ।
परियोजनाको निर्माण कार्य करिब ६० प्रतिशत सकिएकोले तोकिएको अवधिभित्रै काम सम्पन्न हुने साईट इन्जिनियर विरेन्द्रकुमार यादवले जानकारी दिएका छन् । महानगरपालिका क्षेत्रभित्र ६४ किलोमिटर पाइपलाइन बिछ्याउने सम्झौता भएकोमा हालसम्म ५० किलोमिटरको काम सम्पन्न भइसकेको यादवले बताए ।
अहिलेसम्म परियोजनाको ५९ प्रतिशत काम पूरा भइसकेको र सम्झौता भएको समयभन्दा अगाडि नै परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको यादवले बताएका छन् । परियोजनाअन्तर्गत डिपिएस स्कूलदेखि पूर्वतर्फ १२ लाख लिटर क्षमताको ट्यांकी निर्माण गरिनेछ भने तीनपैनीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी तयार भइसकेको छ ।
परियोजना अन्तर्गत टिपिएस पूर्व कलरुवा टोलमै साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी निर्माण हुनेछ । देवकोटा चोक र मुनालपथमा पनि १२–१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ ।
विराटनगरको ३० वर्ष पुराना खानेपानीका संरचना र पाइपलाइनलाई आधुनिक प्रणालीमा रूपान्तरण गर्ने लक्ष्यसहित परियोजना सम्पन्न भएपछि १ लाखभन्दा महानगरवासी लाभान्वित हुनेछन् । जापान सरकारको अनुदानमा निर्माणाधीन यो आयोजना सम्पन्न भएपछि विराटनगरको खानेपानी वितरण प्रणाली आधुनिक, शुद्ध र भरपर्दो बन्ने महानगरले विश्वास व्यक्त गरेको छ ।
परियोजनाको निर्माण म्याद २०२६ नोभेम्बरसम्म रहेको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परियोजना सम्पन्न भएपछि विराटनगर १ देखि १४ सम्का बासिन्दा लाभान्वित हुनेछन् ।
विराटनगरमा खानेपानी परियोजनाको काम गत वर्षको असारबाट सुरु भएको हो ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।