विराटनगर । रष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा चर्चित व्यक्तिहरु भित्र्याउन तयार भएपनि मुल नेतृत्व स्वीकार नगर्ने बताएको छ ।

कुलमान घिसिङदेखि डा.बाबुराम भट्टराई र माओवादी एकता प्रक्रियाबाट अलग भएका जनार्दन शर्मासम्मले नेतृत्व मागेको सन्दर्भमा रास्वपाले नेतृत्व दिन नसकिने स्पष्ट पारेको हो र

चितवनामा आज सुरु भएको पार्टीका विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । ‘पार्टी रिफर्म गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्तिहरुलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यही अनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन’ अर्यालले बैठकमा पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

लोकतान्त्रिक पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा पार्टीको विस्तार र सुदृढीकरणमा आउने प्रस्ताव स्वीकार र कार्यान्वयन गर्न प्रतिवद्ध रहेको प्रतिवेदनमा लेखिएको छ । प्रतिवेदनमा पूर्वाग्रह र व्यक्तिगत महत्वकांक्षाको लेपन नलगाई खुला र हार्दिक छलफल गर्न सके मात्र पार्टीलाई नयाँ रफ्तारमा अगाडि बढाउन सकिने उल्लेख छ।

रिफर्मका नाममा भइरहेका सबै तर्क र गतिविधिको अपनत्व लिएर पार्टी अगाडि बढ्न नसक्ने अर्यालले स्पष्ट पारेका छन् । रविलाई संरक्षक बनाएर कुलमानलाई रास्वपाको सभापति बनाउने सहमति भएको प्रचार यसअघि गरिएको थियो । यस्तै बाबुराम भट्टराई र जनार्दन शर्माले पनि नेतृत्व दिएमा रास्वपामा सामेल हुने बताएको प्रवक्ता मनिष झाले जानकारी दिएका थिए । भट्टराई र शर्माले बिहीबार उपभसभापति अर्यालसँग बैठक बसेका थिए ।

अर्यालले रिफर्म नीति विचार, विधान, सांगठनिक संरचना र कार्यशैलीमा हो कि केही पद र व्यक्तिहरुको व्यवस्थापनका लागि मात्र भन्ने पश्न रहेको बताएका छन् । पार्टीमा पदहरू थपघट गरेर रिफर्म गर्न खोजिएको हो भने त्यसअघि विधान संशोधन गर्नुपर्ने उनले बताएका छन् ।

रिक्त रहेका पदमा जिम्मेवारी पाऊँ भन्ने हो छलफल गर्न सकिने अर्यालले उल्लेख गरेका छन् । ‘पार्टीका पदाधिकारी नै परिवर्तन गर्ने कुरा हो भने, त्यसका लागि महाधिवेशन नै पर्खिनुपर्छ’ उनले भनेका छन्, ‘पहिलो महाधिवेशन नै सम्पन्न नभइसकेको अवस्थामा कसरी र कुन ढाँचामा भन्ने प्रष्टताबिना रिफर्मको नाराले सार्थक परिणाम दिँदैन ।’

विस्तारित बैठकले पनि पार्टीमा संरचनात्मक फेरबदल गर्न नसक्ने अर्यालले बताएका छन् । आग्रह पूर्वाग्रह, व्यक्तिगत महत्वकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि नभई पार्टी रिफर्मबारे निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने उनको भनाइ छ ।

अर्यालले भनेका छन्, ‘म आग्रह गर्दछु, पार्टी रिफर्मबारे कुनै प्रस्तावको मस्यौदा बनाइएको छ भने ल्याउनुस् महाधिवेशनसम्म पार्टीभित्र खुला छलफल गरौं। पार्टी रिफर्म गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति तथा व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदाहुँदै पनि रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिं स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन् ।