विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन मंसिर मसान्तभित्र नसकिने भए पुस मसान्तभित्र गरिसक्नुपर्ने बताएका छन् ।

शुक्रबार आफूनिकट जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा कोइरालाले आउँदो आम निर्वाचनभन्दा पहिले नै महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने उल्लेख गर्दै कोइरालाले निर्वाचन आयोगको तालिकासँग नबाझिने गरी महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने बताए । कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्ने भन्दै उनले पार्टीका लाखौँ शुभेच्छुकहरू र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय पर्खिरहेका दावी गरे ।

समानुपातिकतर्फको बन्दसूची बुझाएपछि पुसको तेस्रो साता महाधिवेशन गर्न सकिने कोइरालाको भनाइ छ । विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा भएको छलफलमा उनले नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताए ।

‘मेरो पहिलो माग निर्वाचन अगाडि नियमित महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘बरू, महामन्त्रीले प्रस्ताव गरेको कार्यतालिका एक साता सारेर पुसको २५ मा समानुपातिकको लिस्ट बुझाइसकेपछि महाधिवेशन गर्दा हुन्छ।’ नियमित वा विशेष महाधिवेशन भन्ने निर्णय जारी केन्द्रीय कार्यसमिति बैठकले नै निर्णय गर्नुपर्ने उनको भनाई छ ।

नियमित महाधिवेशन नगर्ने हो भने बिधान अनुसार विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर बाध्यकारी हुने कोइरालले बताए । केन्द्रीय समितिले महाधिवेशनको निर्णय नगरे र समानान्तर भेला गरिए पार्टीलाई संकटमा पार्ने उनको भनाइ छ ।

‘शेरबहादुरजी सहित सबैसँग मैले संवाद गर्छु । पार्टीलाई मिलाएर लैजानुछ। म बोलचाल बन्द गर्दिनँ, मेरोविरूद्ध गयो, मलाई धोका दियो भनेर म भन्दिनँ’ उनले भने, ‘बूढा भएपनि सिनियर नेताका दुई भोट होलान्, उहाँहरूको योगदान होला । उमेर र राजनीतिमा म भन्दा सिनियर सबैसँग म संवाद गर्छु ।’ पार्टीलाई एकजुट बनाएर लैजान सक्नुपर्ने उनको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिले मागिसकेपछि उनीहरूको वैधानिक माग सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय समितिकै भएको कोइरालाले बताए । छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङसहित मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी थिए ।

काँग्रेसमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गरेपनि सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी र पूर्वपदाधिकारीको कारण निर्णय हुन सकेको छैन ।