विराटनगर । राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ ।
प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न संघले उजुरी दिएको हो ।
सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर उजुरी दिएको बताए । भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले बिहीबार दिएको उजुरीमा कानुनी अवस्था अध्ययन गरेर निर्णय गर्ने जानकारी ब्युरोले दिएको छ ।
मेयर साहले सामाजिक सञ्जाल फेसबुकमा केही दिन पहिला विभिन्न देश र नेपालका राजनीतिक दलहरूको नाम लिँदै आपत्तिजनक शब्दसहित स्टाटस लेखेका थिए ।
केही समयपछि स्टाटस सामाजिक सञ्जालबाट हटाएसँगै मेयर साहको विरोध हुँदै आएको छ । जसले राजनीतिक दल र मित्र राष्ट्रहरुको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको छ ।
जाहेरीमा प्रचलित कानूअनुसार कडा भन्दा कडा कारबाही गर्न माग गर्दै तत्काल पक्राउ गरी विदेश भाग्नबाट रोक्न र राहदानी रोक्का गर्न माग गरिएको छ ।

