विराटनगर । प्रचण्डको नेतृत्वमा माओवादीको बिचार र इतिहास मेट्नेगरी पार्टी एकता भएको भन्दै एकता प्रक्रियामा सामेल नभएका जनार्दन शर्मा काँग्रेस र कम्युनिष्टको काम छैन भन्दै आएका डा.बाबुराम भट्टराईसँगको बैठकमा पुगेका छन् ।
पुराना राजनीतिक दलहरूलाई निर्वाचनबाट नै परास्त गर्ने तयारी भन्दै आयोजित बैठकमा बाबुराम भट्टराईदेखि रास्वपा उपसभापति डोलप्रसाद अर्याल र नेपाली कम्युनिष्ट पार्टीको एकता प्रक्रियामा सहभागी नभएका शर्मासमेत सहभागी भएका हुन् ।
भट्टराईको अग्रसरतामा बैठक भएको बताइएको छ । बिहीबार बिहान नयाँ बानेश्वरमा भएको छलफलमा भट्टराईले जेनजी विद्रोहका कारण दुलामा लुकेका पुराना भ्रष्ट नेताहरूले फेरि टाउको उठाउने प्रयास गरेको भन्दै उनीहरूलाई निर्वाचनबाटै परास्त गर्न वैकल्पिक शक्ति एकजुट हुनुपर्ने बताएका थिए ।
भट्टराईले जनतामा बढ्दै गएको निराशालाई चिर्न नसकिए देशमा झन् ठुलो खतरा बढ्नसक्ने भन्दै एकजुट हुन आह्वान गरेका थिए । भट्टराईको प्रस्तावलाई सहभागी सबैले सकारात्मक रूपमा लिएको र आगामी दिनमा छलफललाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।
छलफलमा भट्टराईसहित रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, जनार्दन शर्मा र सुदन किराँती, नयाँ शक्तिकी उपाध्यक्ष रहेकी भट्टराईपुत्री मानुषी यमी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत सहभागी थिए ।

