विराटनगर । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै तत्काल जनताको पक्षमा काम गर्न वा पदबाट राजीनामा दिन चेतावनी दिएका छन् ।

देशभरि ‘हत्यारालाई कारबाही गर’ र ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठिरहेको बेला सरकारले युवाहरूलाई नै लक्षित गरेको भन्दै गुरुङले गृहमन्त्रीले जनताको भरोसा तोडेको आरोप लगाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै गुरुङले गृहमन्त्री अर्याललाई आफ्नो पुरानो वाचा स्मरण गराएका छन् । ‘काम गर्न नसके पद छोड्छु भन्ने तपाईंको वाचा सम्झनुहोस्,’ गुरुङले भनेका छन्, । ‘ अब त्यो समय आएको छ, किनभने दुई महिना बितिसक्दा पनि न कुनै भ्रष्टाचारीमाथि कारबाही भयो, न त कुनै हत्यारा पक्राउ परे ।’

आफूहरूले योग्य, इमानदार र परिणाममुखी नेतृत्वका लागि संघर्ष गरेको तर वर्तमान सरकारबाट आशा मरिसकेको उनको भनाइ छ । देशको हितका लागि लड्दा भ्रामक समाचार र चरित्र हत्यासमेत सहेको उल्लेख गर्दै उनले अब सरकारको अकर्मण्यता स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

गुरुङले सरकारले चुनावको बहाना बनाएर जनताको ध्यान मोड्न खोजेको आरोप लगाउँदै भने, ‘२०८४ को चुनाव २०८२ मा सार्नका लागि यो आन्दोलन गरिएको होइन, चुनावको नाटक नचलोस् ।’ उनले नेपाली जनता र जेनजीका मागहरू सम्बोधन नभए वर्तमान सरकारबाट आशा मरिसकेको उनको भनाइ छ ।

आफ्ना मागहरू पूरा नभएमा दुई दिनपछि पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको भविष्य निर्धारण गर्ने चेतावनी दिँदै गुरुङले भने, ‘प्रधानमन्त्रीको प्रिय पात्र भएकै भरमा पद सुरक्षित हुन्छ भन्ने नसोच्नुहोस् । यदि तपाईं अझै पनि पदमा टाँसिरहनुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’

उनले गृहमन्त्रीलाई आफ्नो जिम्मेवारी पूरा गर्न अन्तिम चेतावनी दिँदै ‘जनता र युवा जागिसकेको’ बताएका छन् ।