विराटनगर । भन्सार परिसरबाटै तस्करी गरिएको मालबस्तु विभिन्न स्थानमा सामान पठाउने फेला परेको लगत्तै विराटनगर–६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान कार्यालय इटहरीले ३४ पोका कपडा नियन्त्रणमा लिएको छ ।

मंगलबार को १ त ९७१७ नम्बरको ट्याक्टरमा प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा धेरै कपडासहितका सामगग्री लोड गरेको पाइएपछि आयातकर्ता फर्मका सहयोगी कुन्दन मण्डल र अन्य दुई जनालाई भन्सार कार्यालयबाटै नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका मण्डलले भन्सार छलेर भित्र्याएको कपडा बुद्धपुजा ढुवानी सेवामार्फत पठाउने तयारी गरेको जानकारी दिएपछि बुधबार राजस्व अनुसन्धानको टोलीले ढुवानीमा छापा मारेको हो । मण्डललाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

अनुसन्धानका क्रममा मण्डलले प्रज्ञानपत्रमा उल्लेखितभन्दा फरक मालवस्तु भन्सार परिसरमै भित्र्याउने गरेको पाइएको छ । त्यो सूचना सशस्त्र प्रहरी बलका डिआईजीदेखि राजश्व अनुसन्धानसम्म पुगेपछि टोलीले ट्रान्सपोर्टबाट सामान नियन्त्रणमा लिइएको हो ।

बरामद कपडाका नक्कली बील र प्रज्ञानपत्रसमेत बनेको हुनसक्ने राजस्व अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ । अनुसन्धानका क्रममा ढुवानी सेवा सञ्चालक धिरज मण्डललाई समेत नियन्त्रणमा लिइएको छ । ढुवानी सेवा कुन्दन मण्डलको परिवारकै संलग्नतामा सञ्चालन हुँदै आएको पाइएको छ ।

बुद्धपूजा ढुवानी सेवाल दुहबी, इटहरी, धरान, विराटचौक, लेटाङ, उर्लाबारी, पथरी, दमक, इनरुवा, झुम्का, भण्टाबारी र कोशी ब्यारेजसम्म सामान पठाउने गरेको छ । सो ढुवानीबाट तस्करीका लागि सेटिङ मिलाउने कार्य हुँदै आएको अनुसन्धानले देखाएको छ ।

मण्डलले भन्सारमा सौगात पोखरेलको क्लियरिङ नम्बर प्रयोग गरी जाँचपास गर्दै आएको थिए । उनले प्रज्ञानपत्रभन्दा बाहेकका सामान पनि सवारीमार्फत भित्र्याउने गरेको प्रमाण भेटिएको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहका अनुसार गाडी नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन राईले भन्सार कार्यालयको अनुरोधमा मण्डललाई हिरासतमा राखिएको पुष्टि गरेका छन् ।

भन्सार एजेन्ट पोखरेलले मण्डल आफ्नो दाजु भएको भन्दै आफ्नो एजेन्ट नम्बरमार्फत काम गर्दै आएको स्वीकार गरेका छन् । राजस्व अनुसन्धान कार्यालयले यस घटनालाई ठूला तस्करी श्रृंखलाको एक हिस्सा मान्दै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरी हिरासतमा रहेका मण्डलमाथिको अनुसन्धानबाट उनले भन्सारका केही कर्मचारीसँगको मिलेमतोमा लामो समयदेखि न्यून बिजकीकरण र घोषणा नगरी सामान पास गराउँदै आएको देखिएको छ । स्रोतका अनुसार मण्डलले भन्सार छलीका लागि निकै योजनाबद्ध तरिका अपनाएको देखिन्छ । उनले सामान जाँचपासका लागि भन्सारको गोदाममा रहेको सिसिटिभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ (अँध्यारो कुनो) प्रयोग गर्ने गरेको पाइएको छ ।

‘मण्डलले गोदामको त्यस्तो कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा धेरैसामान पास गराउँथे’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘त्यसरी छली गरेको सामान बाहिर निकाल्न उनले एम्बुलेन्स जस्तो संवेदनशील सवारीसाधनको दुरुपयोग गरेको पाइयो । हामीले एम्बुलेन्समा सामान लोड गर्न थालेपछि रंगेहात नियन्त्रणमा लिएका हौँ ।’

घटनाको अनुसन्धानको नेतृत्व भन्सार अधिकृत तुलसी रेग्मीको टोलीले गरिरहेको छ । टोलीले पक्राउ परेकाहरूको बयान लिने र उनीहरूको सम्पर्क सञ्जालबारे थप खोजी गरिरहेको जनाएको छ ।