काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को अगुवाइमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको बुधबार काठमाडौँमा एकता सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक उद्घाटन गरे । सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।
सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ । माओवादी केन्द्रका, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी, प्रेम चलाउनेको नेकपा साम्यवादी, गोपाल किराती नेतृत्वको समाजवादी मोर्चाले पार्टीले एकता गरेका हुन् ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाबचिन्ह पाँचकुने तारा रहनेछ ।

