काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ ।

भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन बुधबार सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए । कारागार प्रमुखले जबरजस्ती पत्रमा आफूलाई हस्ताक्षर गराइएको बताएका छन् ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।