विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । ‘धम्की र श्रम शोषण बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले आज बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन सुरु गरेका हुन् ।

यसअघि पनि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले आफ्ना माग पूरा गर्न अस्पताल प्रशासनलाई कार्तिक १८ गतेसम्मको समयसीमा दिएका थिए । तर, अस्पताल व्यवस्थापनले मागहरूलाई पूर्ण रूपमा बेवास्ता गरेपछि आफूहरू फेरि आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनको नेतृत्व गरिरहेकी स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।

‘हाम्रा मागहरूप्रति अस्पताल प्रशासनले कुनै सुनुवाइ गरेन, त्यसैले हामी फेरि आन्दोलनमा होमिएका छौँ,’ देवले भनिन्, ‘अहिले आकस्मिक र आइसियूबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छौँ । माग पूरा नभएसम्म यो आन्दोलन रोकिने छैन ।’

आन्दोलनरत स्वास्थ्यकर्मीका अनुसार अस्पतालले उनीहरूलाई मासिक १२ हजार १७० रुपैयाँ मात्रै आधारभूत तलब दिइरहेको छ, जबकि राज्यले तोकेको न्यूनतम पारिश्रमिक३४ हजार ७३० रहेको छ । स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको यही न्यूनतम तलब पाउनुपर्ने मुख्य माग राखेका छन् ।

नेपालमा निजी अस्पतालहरूमा कार्यरत नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूले लामो समयदेखि श्रम शोषण र कम पारिश्रमिकको समस्या भोग्दै आएका छन् ।