विराटनगर । कोशी प्रदेशको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सांकेतिक रूपमा अस्वीकार गरेको छ ।

कार्यकक्षमा राष्ट्रप्रमुख र सरकार प्रमुखको फोटो राख्ने प्रचलन छ । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत एमालेबाट मन्त्री बनेकाहरूले आफ्ना कार्यकक्षमा प्रधानमन्त्रीको तस्वीर राखेका छैनन् ।

यसअघि भदौ २४ सम्म प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर सबैको कार्यकक्षमा थियो । भदौ २७ गते प्रधानमन्त्री शुशिला कार्की नियुक्त भएपछि कतिपय मन्त्रीले प्रधानमन्त्रीको फोटो हटाएर राष्ट्रपतिको मात्र फोटो राखेका छन् भने कतिपयले राष्ट्रपतिको पनि फोटो नराखेको पाइएको छ ।

संघीय सरकारले मुख्यमन्त्रीका सल्लाहकार तथा प्रदेश सांसदका स्वकीय सचिव हटाउन परिपत्र गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले त्यसलाई अस्वीकार गर्दै हुकुमी शासन नमान्ने घोषणा गरेका थिए । उनको घोषणा अनुसार नै ६ वटछा प्रदेशका सांसदलका स्वकीय सचिवको तलब सुविधा रोकिएमो कोशीमा निरन्तर छ । यस्तै उनले सचिवालय पनि कटौती गरेका छैनन् ।

मुख्यमन्त्री कार्कीले संघीय सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा भएको घटनको छानविन गर्न पूर्वन्यायाधीश गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन पनि अस्वीकार गर्ने बताउँदै आएका छन् । संघीय सरकारलाई चुनौति दिँदै आएका मुख्यमन्त्री कार्कीले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री कार्कीको फोटो नराखेका हुन् । उनको कार्यकक्षबाट राष्ट्रपति पौडेलको फोटो पनि हटाइएको छ ।

मुख्यमन्त्री कार्यालयमै कार्यकक्ष रहेको राज्यमन्त्री सिर्जना राईको कार्यकक्षमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर छैन । यसअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीको तस्वीर राखिएको थियो । मुख्यमन्त्री कार्यालय जेनजी आन्दोलनको क्रममा मुख्य भवनमा आगलागी भएपछि कम्पाउन्डभित्र रहेको अर्को भवनमा कार्यालय सारिएको छ।

यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीको कार्यकक्षमा भने राष्ट्रपति पौडेलको तस्वीर राखिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर हटाएपछि नयाँ प्रधानमन्त्री कार्कीको तस्वीर राखिएको छैन। मन्त्री भण्डारीले ‘प्रधानमन्त्रीको फोटो नभेटिएकोले नराखिएको’ प्रतिक्रिया दिएका छन् ।

‘जेन–जी आन्दोलनपछि मन्त्रालय अस्तव्यस्त थियो’ उनले भने, ‘त्यसपछि चाडपर्व पनि सुरु भयो । नयाँ प्रधानमन्त्रीको फोटो नै भेटिएन ।’

कोशी सरकारका नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका भूपेन्द्र राईको कार्यकक्षमा भने राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की दुबैको तस्वीर राखिएको छ।

एमालेबाटै सामाजिक विकास मन्त्री रहेका पाँचकर्ण राईको कार्यकक्षमा पनि राष्ट्रपति र प्रधानमन्त्री दुबैको तस्वीर राखिएको छैन । जेनजी आन्दोलनको क्रममा तोडफोड भएपछि नयाँ तस्वीर राख्न नपाएको मन्त्री राईले बताए ।