विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् ।

बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका शेर्पालाई मंगलबार प्रहरीले धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले शेर्पा पक्राउ परेको पुष्टि गरेका छन् । एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो । अदालतबाट दोषी ठहर भएपनि राजनीतिक संरक्षणको कारण उनी पक्राउ परेका थिएनन् ।

पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन् । काठमाडौंले २३ चैत २०७९ मा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए । उच्चले पनि गत वर्ष जिल्लाको आदेश सदर गरेको थियो ।

केपी ओली नेतृत्वको सरकारले संरक्षण गरेको कारण उनी पक्राउ परेका थिएनन् । ओली सरकारक विघटन भएपछि पनि उनी ओलीको निकट रहेर काम गरिरहेका थिए । उनकै अगुवाइमा गुण्डुमा बसिरहेका ओलीको सुरक्षा टिम खटाइएको थियो ।

शेर्पाको घर मिक्वाखोला ५, ताप्लेजुङ हो । उनी आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत हुन् ।

बहुबिबाहमा दोषी प्रमाणित भइसकेकोले उनललाई निलम्बन गर्नुपर्ने माग एमालेको गत सचिवालय बैठकमा उठेको थियो । तर, एमाले अध्यक्ष ओलीले बहुविवाह सामान्य विषय भएको भन्दै त्यसमा निलम्बन नगर्ने अडान लिएका थिए ।

एमाले सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए । गुन्डुमा गएको शनिबार बसेको नेकपा एमालेको सचिवालय बैठकमा भट्टराईले टोपबहादुर रायमाझीलाई फैसला नहुँदै निलम्बन गरेको स्मरण गर्दै अदालतबाट दोषी ठहर भइसकेका शेर्पालाई निलम्बन गर्न प्रस्ताव गरेका थिए ।

ओलीले भने मुद्दा आफूलाई पनि लागेको भन्दै मुद्दा लाग्नु सामान्य कुरा भएको बताएका थिए । पार्टीभित्र आफ्नो पक्षमा चर्को स्वरमा बोलिरहेका शेर्पालाई जोगाउन ओलीले विगतमा आफूलाई पनि टाउको काटेको आरोप लागेको तर्क गरेका थिए ।