विराटनगर । कार्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षा (मोन्था चक्रवात) का कारण कोशी प्रदेशमा धान तथा तरकारी बालीमा २ अर्ब बढीको क्षति पुगेको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार यस क्षेत्रमा १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको हो ।

जसमा ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । उक्त तथ्याङकमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ । तरकारीको मूल्य ४ करोड बराबर रहेको छ भने धानको मूल्य २ अर्ब १ करोड बढी देखिएको छ । जम्मा क्षति भने २ अर्ब ५ करोड ५४ लाख ३६ हजार ७ सय ९० रुपैयाँ रहेको निर्देशनालयका सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।

तथ्यांकअनुसार झापा, मोरङ र सुनसरी जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ । जसबाट २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी मोरङमा ३ हजार ४२१ हेक्टरमा १६ हजार ४२० दशमलव ८ मेट्रिक टन धानमा क्षति भएको छ । जसको मूल्य ५८ करोड ७८ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । सुनसरीमा २ हजार ८५१ हेक्टरमा १२ हजार ६५८ दशमलव ४४ मेट्रिक टन धानमा क्षति पुगेको छ । जसको मूल्य ४५ करोड ३१ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

सुनसरीमै २ सय हेक्टरमा लगाएको तरकारी बालीमा पनि क्षति पुगेको छ, जसको मूल्य ४ करोड रुपैयाँ बराबर छ । पहाडी जिल्लाहरूमध्ये उदयपुरमा ३ सय २३ हेक्टर, इलाममा २ सय ६८ हेक्टर, पाँचथरमा १ सय ४४ हेक्टर, ताप्लेजुङमा १ सय २० हेक्टर, धनकुटामा १ सय १८ हेक्टर, तेह्रथुममा १ सय ५७ हेक्टर, भोजपुरमा २ सय ५० हेक्टर, खोटाङमा २ सय हेक्टर, ओखलढुंगामा ७६ हेक्टर, सोलुखुम्बुमा १५ हेक्टर र संखुवासभामा १ सय २५ हेक्टर धानमा क्षति पुगेको छ । यी सबै धान बालीमा बीमा नभएको निर्देशनालयले जनाएको छ ।

यस्तै तराईका जिल्लामा २० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५–३० प्रतिशत क्षति भएको हो । पहाडी जिल्लामा ८–१० प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति पुगेको निर्देशनालयको तथ्याङ्क छ । तराई र पहाडको तुलनामा हिमाली जिल्लामा कम क्षति भएको छ । हिमाली जिल्लामा ५–६ प्रतिशत धान ढलेको र ढलेको धानमा करिब २५ प्रतिशत क्षति भएको तथ्याङ्क छ ।