विराटनगर । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा कृषिजन्य वस्तुको आयातभन्दा निर्यात दोब्बर बढि भएको पाइएको छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अबधिमा कृषिजन्य बस्तु १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको आयात हुँदा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

सो अबधिमा मुख्य रुपमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत निकासी भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैंची १ अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको निर्यात भएको हो । त्यसैगरी, सो अबधिमा अदुवा ११ करोड ९० लाख, ताजा तरकारी ९ करोड ४७ लाख, जडीबुटी १ करोड २४ लाख, मसुरो दाल ७ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो ६ करोड २० लाख, चामल ४ करोड ९६ लाख, तरकारी ३ करोड ६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।