लोड हुँदैछ...

मेनु

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको आयातभन्दा निर्यात दोब्बर

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको आयातभन्दा निर्यात दोब्बर

विराटनगर । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिकमा कृषिजन्य वस्तुको आयातभन्दा निर्यात दोब्बर बढि भएको पाइएको छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अबधिमा कृषिजन्य बस्तु १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ बराबरको आयात हुँदा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

सो अबधिमा मुख्य रुपमा अलैंची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत निकासी भएको हो । तीन महिनामा सबैभन्दा धेरै अलैंची १ अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख र अम्लिसो १९ करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको निर्यात भएको हो । त्यसैगरी, सो अबधिमा अदुवा ११ करोड ९० लाख, ताजा तरकारी ९ करोड ४७ लाख, जडीबुटी १ करोड २४ लाख, मसुरो दाल ७ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ । आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो ६ करोड २० लाख, चामल ४ करोड ९६ लाख, तरकारी ३ करोड ६ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ । त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।