इटहरी । मोन्था चक्रवातको प्रभावले गत साता परेको अविरल वर्षाको कारण सुनसरीका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।
बिहीबा र शुक्रबारको वर्षाका कारण व्यावसायिक तरकारी खेतीमा संलग्न किसानहरूले ठूलो क्षति व्यहोरेका हुन् ।
गत असोज तेस्रो साताको बाढी तथा डुबानले थला परेका किसानलाई हालको झरीले थप पीडा थपेको छ । वर्षाले पाक्न लागेको धानबालीलाई पनि डुबान गर्दा क्षति भएको छ । त्योभन्दा ठूलो क्षति तरकारीमा भएको छ ।
व्यावसायिक तरकारी उत्पादनका लागि उर्वर मानिएको इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरसिंह गाउँपालिकामा बेमौसमी वर्षाले सबैभन्दा बढी क्षति पुर्याएको छ। जमिन भाडामा लिएर बैङ्कबाट ऋण काढी गरिएको तरकारी खेती नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन् ।
वर्षा तथा डुबानका कारण बेमौसमी तरकारीका रूपमा खेती गरिएका काउली, मुला, भन्टा, प्याज, घिउ सिमी, तमे बोडी, काँक्रो, भिण्डी, फर्सी र घिरौँलालगायतका बालीमा व्यापक क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
वार्षिक करिब ७ सय मेट्रिक टन तरकारी उत्पादन गर्ने सुनसरीका किसानहरूले उत्पादित तरकारी सदरमुकाम इनरुवा, विराटनगर हुँदै काठमाडौँसम्म निर्यात गर्दै आएका छन् ।

