विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल (सितलकुमार)ले माओवादी पार्टीमा पटक पटक विभाजन गर्नेहरु पुनः उही घेरामा फर्किंदै गएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत उनले माओवादी विभाजनहरू विचारगत कारणले नभएर व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्त्वसँगको असमझदारीको परिणाम भएको बताएका हुन् ।
‘यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन्,’ सितलकुमारले भनेका छन्, ‘विडम्बना के छ भने—आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ। यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो।’
२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी (मशाल, चौ.म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल) बीचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र संगठनात्मक आधार तयार गरेको र त्यसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गराएको उनको दाबी छ । ‘अब, २०८२ सालको जेन–जी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ। इतिहास फेरि दोहोरिँदैछ—तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो,’ उनले भनेका छन्, ‘अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।