विराटनगर । पाँचथरको हिलिहाङ गाउँपालिका –१ फेदापमा छोराले चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन् । ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराज राईको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिश कर्णका अनुसार सन्देशले आइतबार बिहान बाबुको हत्या गरेको हुन् । युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो ।
सँगै बसेर मदिरा खाएका बेला अंशको विषयमा विवाद हुँदा छोराले बुवाको हत्या गरेको डीएसपी कर्णले बताए । ‘मदिरा खाएको बेला छोरालाई अंश दिन्न भनेर बाबुले भनेछन्,’डीएसपी कर्णले भने, ‘त्यसपछि छोराले हत्या गरेको देखिन्छ ।’
घरमा बाउछोरा मात्रै बस्दै आएका थिए । घटनाको जानकारी पाएलगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नुका साथै युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याएको डीएसपी कर्णले बताए ।

