विराटनगर । झापाको शिवसताक्षी १० का ३३ वर्षीय सरोज शर्माको उनकै साथीले सुनको लोभ देखाएर अपहरण गरी विभत्स हत्या गरेको रहस्य खुलेको छ। सस्तोमा सुन पाइन्छ भन्दै बोलाएर उनको अपहरण गरी हतौडाले टाउकोमा हानेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

गत आइतबार ‘कार धुन्छु’ भन्दै घरबाट निस्किएका शर्मा बेपत्ता भएका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा मुख्य योजनाकार छिमेकी २५ वर्षीय सुनिल साह सहित दुई जनालाई पक्राउ गरेपछि घटनाको पर्दाफास भएको हो। उनीहरुलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

अभियुक्तहरूले शर्मालाई भारत लगेर बन्धक बनाई परिवारसँग करोडौं रुपैयाँ फिरौती माग्ने योजना बनाएका थिए। तर, अर्जुनधाराको जंगलमा लगेपछि शर्मा चिच्याए । उनी चिच्याएपछि योजना असफल हुने डरले अपहरणकै दिन उनको टाउकोमा हतौडाले हानेर हत्या गरेको अभियुक्तले स्वीकारेका छन्।

हत्यापछि शवलाई विरिङ खोलाको पुलमुनि गाडेका उनीहरूले प्रमाण नष्ट गर्न चार दिनपछि शर्माको कारलाई जंगलमा लगेर जलाइदिएका थिए। प्रहरीले अभियुक्तको बयानका आधारमा खोला किनारबाट सडेको अवस्थामा शव बरामद गरेको छ। तिहार मनाउन काठमाडौंबाट घर आएका शर्माको हत्यामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना बाहिरिएपछि आक्रोशित स्थानीयले अभियुक्तहरूको घरमा तोडफोड गरेका छन्।