माओवादी र समाजवादीबीच एकता आजको अनिवार्य आवश्यकता

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीचको एकतालाई आजको समयको अनिवार्य आवश्यकता रहेको बताएका छन्।

आङ्बोका अनुसार, दुवै पार्टीबीच मार्गदर्शक सिद्धान्त, विचार, कार्यदिशा र राजनीतिक कार्यक्रममा समानता रहेको हुँदा एकता स्वाभाविक र व्यवहारिक कदम हो।

उनले भने, “यदि बाहाना नखोज्ने हो भने, माओवादी र एकीकृत समाजवादी बीचको एकता प्राकृतिक र आजको अनिवार्य आवश्यकता हो।” उनले नेतृत्व, कार्यविभाजन, पार्टीको नाम र चुनाव चिन्ह जस्ता विषयहरू समझदारी र सहमतिको माध्यमबाट समाधान गर्न सकिने बताए।

आङ्बोले कम्युनिस्ट पार्टीहरूबीचको एकतालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । उनले भने, “कम्युनिस्ट पार्टीहरू बीचको एकता राम्रो कुरा हो, यसलाई आत्मसात् गरौं। विचार मिलेपनि एकता हुन नसकेका शक्तिबीच संयुक्त मोर्चा निर्माण गरौं, गलत गाली संस्कृतिलाई नदोहोर्‍याऔं।”

“एकतापछि पनि आजको समाज र नयाँ पुस्ताको भरोसायोग्य कम्युनिस्ट पार्टी बनाउन व्यापक सुधार र रूपान्तरणसहित विधिवत् नेतृत्व पुस्तान्तरणतर्फ लाग्नुपर्छ” आङबोको भनाइ छ।

माओवादी र समाजवादीबीच हुन लागेको एकताको विरुद्ध माओवादीकै नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा लागिरहेको चर्चाबीच आङ्बो एकताको पक्षमा उभिएका हुन्। आङ्बोलाई जनार्दन समूहको सदस्यको रुपमा प्रचार हुने गरेको छ।

कार्तिक १५, २०८२, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर