विराटनगर । जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ।
शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको उनले सामाजिक सञ्जाल फेसबुकबाट जनाएकी छिन् ।
यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको बमले जनाएकी छिन् । यो संख्या बढ्दै जाने उनको भनाइ छ । उनीहरूले दस्तावेज समेत तयार पारी सार्वजनिक गरेका छन्। दस्ताबेजमार्फत जेनजी विद्रोहमा सबै सहमत हुनेहरूसँग एकताको आह्वान समेत गरेको छ।
‘यस परिवर्तनलाई संस्थागत बनाउन सबै वर्ग र क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ। त्यसैले हामी जेनजी विद्रोहमा सहमत सबै साथीहरू, साथे राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, शिक्षक,प्राध्यापक, बौद्धिक समुदाय, सरकारी कर्मचारी, प्रशासनिक निकाय, व्यवसायिक समुदाय, उद्यमी, श्रमिक वर्ग, कलाकार, लेखक, इन्फ्ल्यन्सर, प्रवासी नेपाली समुदाय र नेपाली नागरिकहरूलाई सहकार्य एकताका लागि हार्दिक आह्वान गर्दछौं,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


 
						 
															 
															 
															 
															 
															 
															