विराटनगर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।
नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । त्यसयता उनको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।


