धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियम विपरीत कार्य गर्ने पाँच जना चिकित्सकसहित कर्मचारीलाई बर्खास्त गरेको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.सूर्यप्रसाद संग्रौलाका अनुसार प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मीसहित बर्खास्तमा परेका हुन् ।
रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । उनी दुई वर्षका लागि काजमा गएका थिए । तर, काज अवधि सकिएपछि पनि प्रतिष्ठानमा हाजिर नगरेकाले कार्यकारिणी समितिको निर्णयअनुसार उनलाई बर्खास्त गरिएको हो ।
प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर तथा डा. लक्ष्मी सुवेदीलाई पनि बर्खास्त गरिएको छ । रेग्मीकै श्रीमती सुवेदीलाई अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि बर्खास्त गरिएको रजिस्ट्रार संग्रौलाले जानकारी दिए ।
प्रतिष्ठानका कर्मचारीहरू दिरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् । ती कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको आरोप छ ।
प्रतिष्ठानले हाडजोर्नी विभागका प्रमुख डा.रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरेको छ । उनीहरूलेसमेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाएपछि त्यसअनुसार कारबाही अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अर्का कर्मचारी श्याम लम्सालले एसोसिएट प्रोफेसरबाट प्रोफेसरमा बढुवाको क्रममा नियम उल्लंघन गरेको पाइएको छ । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङका रजिस्ट्रार छन् । प्रतिष्ठानको नियमअनुसार प्रोफेसरमा बढुवा हुन कम्तीमा ६ वर्ष प्रतिष्ठानमै एसोसिएट प्रोफेसरको रूपमा कार्य गरेको हुनुपर्ने र बाहिरी संस्थाको हकमा ७ वर्ष एसोसिएट प्रोफेसरको रुपमा कार्य गरेको हुनुपर्ने व्यवस्था छ । तर, लम्सालले सेवा अवधि नपुगी नै बढुवाको प्रक्रिया पूरा गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि छानबिन गर्दा सेवा अवधि नपुगेको प्रमाणित भएपछि उनले राजीनामा दिएका थिए । कार्यकारिणी समितिले निणर्य गरेर दिएको प्रोफेसर पदबाट उनलाई दुई तह घटाएर केही सेवा सुविधा दिने निर्णय गरी राजीनामा स्वीकृत गरेको छ ।
रजिस्ट्रार संग्रौलाका अनुसार प्रतिष्ठानभित्र नियम विपरीत काम गर्ने अन्य दर्जनभन्दा बढी चिकित्सकमाथि पनि छानबिन भइरहेको छ । उनीहरुलाई स्पष्टिकरण सोधिएको छ । प्रतिष्ठानको अनुमतिविना निजी क्लिनिकमा काम गर्ने चिकित्सकलाई पनि कार्वाहीको तयारी भएको संग्रौलाले जानकारी दिए ।
प्रतिष्ठानले पछिल्ला वर्षहरूमा बढ्दो प्रशासनिक अनियमितता, नियम उल्लंघन र प्रभावशाली व्यक्तिहरूको दबाबका कारण संस्थाको मर्यादामा आघात पुगेको भन्दै कडाइका साथ सुधार अभियान थालेको छ ।


