कोशी अस्पतालका नर्सहरूको आन्दोलन बिहीबार पनि जारी, यी हुन् १५ बुँदे माग

विराटनगर । न्यून पारिश्रमिक र असमान सेवासुविधाको विरोधमा देशव्यापी रूपमा जारी नर्स आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विराटनगरको कोशी अस्पतालका नर्सहरूले आफ्नो आन्दोलन बिहीबार पनि जारी राख्ने भएका छन् ।

नेपाल नर्सिङ संघ, मोरङको अगुवाइमा उनीहरूले आफ्ना १५ बुँदे माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

यसअघि बुधबार, संघको नेतृत्वमा नर्सहरूले बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा कोशी अस्पताल परिसरमा धर्ना दिएका थिए ।

सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको उक्त धर्नाका कारण अस्पतालको अत्यावश्यक बाहेकका सेवाहरू प्रभावित बनेका थिए ।

संघकी मोरङ अध्यक्ष लोजिता योञ्जनका अनुसार नर्सिङ पेशामा व्याप्त चरम श्रम शोषण, करार र ज्यालादारी प्रणालीको अन्त्य तथा पेशागत स्थायित्वको मागसहित आन्दोलन सुरु गरिएको हो । ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाइसकेका छौं । मन्त्रालयले माग सम्बोधन गर्न एक कार्यदल गठन गरी कात्तिक १८ गतेभित्र प्रतिवेदन बुझाउन समय दिएको छ,’ उनले भनिन्, ‘उक्त प्रतिवेदन नआएसम्म र मागहरू ठोस रूपमा सम्बोधन नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’

योञ्जनले राज्यले नर्सहरूमाथि दोस्रो दर्जाको व्यवहार गरेको आरोप लगाइन् । ‘डाक्टरसरह २४ सै घण्टा बिरामीको सेवामा खटिने नर्सहरूलाई राज्यले दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दै आएको छ,’ उनले आक्रोश व्यक्त गरिन्, ‘सरकारको नीति र पारिश्रमिक संरचनाले नर्सहरूको मनोबल गिराउने काम मात्र गरेको छ ।’ उनले हाल करार तथा ज्यालादारीमा कार्यरत नर्सहरूलाई तत्काल स्थायी गरिनुपर्ने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनुपर्ने, र शैक्षिक योग्यता तथा अनुभवका आधारमा नियमित बढुवा हुनुपर्ने जस्ता मागहरू प्रमुख रहेको बताइन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालबाट सुरु भएको यो आन्दोलनको लहर अहिले विराटनगर, काठमाडौं, धरान, नेपालगञ्जदेखि धनगढीसम्म देशभर फैलिएको छ । हजारौं नर्सहरूले सरकारीसरह पारिश्रमिक र सुविधा नपाएको गुनासो गरिरहँदा विदेश पलायन हुने दर पनि तीव्र छ । यही कारण संघले ‘न्यायोचित पारिश्रमिक र व्यावसायिक सम्मान’ लाई आन्दोलनको मूल नारा बनाएको हो ।

संघले कार्यदलको प्रतिवेदन केवल औपचारिकतामा सीमित भए वा मागहरूलाई बेवास्ता गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएको छ ।

कार्तिक १२, २०८२, साँझको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर